कार्तिक ६ गते, २०७६

लोकसेवा कसरी पास गर्ने ? च्यातिएको जाँघे र चुँडिएका चप्पलसँगै नियुक्ति पाएको आत्मकथा!

पटक हेरिएको

दिन भर कुनै कुरामा पनि मन स्थिर हुन सकेन। छटपटिँदै यताउता गरिरहेँ। आँतमुख सुकि रहेकोले घरिघरि पानी घटघटी पिइरहेँ। चञ्चल मनले शरीरका अङ्गप्रत्यङ्ग प्रत्येकलाई चञ्चल तुल्याइरह्यो। मुटुको धड्कन असामान्य भैरह्यो।  झोलाभरि विद्यार्थीका जाँच्नुपर्ने कापीहरु कोचिएका थिए। झिक्न मन लागेन।

अघि पछि हंसमुख लिएर फटाफट हिँड्दै आउने प्रकाश आज रुझेको बिरालोसरि मल्स्याङमल्स्याङ गर्दै आइ पुग्यो। उसको अनुहारमा पानी पर्न जमजमाएका काला बादलहरुको एक धब्बा देखेँ। ऊ मसँग केही पनि नबोली बाथरुममा पस्यो र सितिमिति बाथरुमबाट बाहिर निस्कँदै निस्किएन।

यो शुभसंकेत होइन भन्ने अनुमान गरेँ मैले । मेरो उम्लिएर पोखिन बाँकी आशा र उत्साह मनकै कराहीमा एकाएक सेलाउन पुग्यो। शरीर लत्र्याक्लुत्रुक पर्‍यो। श्वास फुल्यो तर घाँटीमाथि उक्लिएन। एकप्रकारको ऐठन भएकोले म निस्सासिँदै खाटमा डङ्ग्रङ्ग लड्न पुगेँ । छातिभित्र हुण्डरी मच्चाइ रहेको श्वासको आँधी आँखा र मुखबाट निस्कन खोज्यो। शिरकले गुटुमुटु भएँ । फलस्वरुप मुखबाट ‘क्वाँ-क्वाँ’ को गड्याङगुडुङ र आँखाबाट भारी वर्षाद हुन सजिलो भैदियो।

प्रकाश बाथरुमबाट बाहिर निस्किएको चाल पाएपछि सिरकले आँखामुख पुछ्दै उसलाई हेरेँ। अझै मसँग नबोलेपछि आफैँ सोधेँ, “छैन त प्रकाश मेरो नाम ?”

“खै ? भट्टले छैन भन्छ । नभएरै त होला !” ऊ पनि लामो निश्वास फेर्दै खाटमा पल्टियो र सिरकले गुटुमुटु भयो। दुवै भाइको मुटु तौलने हो भने उत्तिकै वजनको हुनुपर्छ।

“उफ् ! यस पटक पनि नाम निस्किएन ! लिखित पास गरेर पनि इन्टर्भ्यूमा फेल हुनु जागिरमा शहिद भए बराबर हो।” पछुतो र आत्मग्लानीले छाती भतभती पोलि रहेको थियो।

नाम ननिस्किएको खबररुपि हावा मसम्म आइनपुग्दै पुगिसक्यो होला त्यो दुर्गम ठाउँको घरमा। खबर सुनेर आमाबा औधि छट्पटाउनुभयो होला । मेरो यो घरिघरिको असफलताको खबर आफ्नी बुहारीलाई सुनाउन मुसिवत भैरहेको होला उहाँहरुलाई। उता दूधे बच्चाहरु आफ्नो बाबासँग भेट गर्ने लामा-लामा दिनहरु औँला भाँचेर घटाइरहेका होलान्। यता तिर आउँदा छोरीले आफूलाई पछ्याएकीले गालामा एक चड्कन लगाइ दिएको थिएँ। त्यो दुखाइ करिब एक महिनासम्म गाला छाम्दै अनुभूत गरिरहीहोली उसले। बिचरीलाई के थाहा मैले उसलाई किन पिटेँ ? एक महिना होइन, दुई महिना होइन, तीसतीस महिना भैसकेका छन्, जहानबच्चालाई रुवाउँदै घर छोडेर निस्केको।

सबै भन्दा भाउन्ने त ती बच्चाकी आमालाई भैरहेको होला। टाउको दुखाइकी रोगीः माइग्रेनकी भुक्तभोगी। अलिकति काम, अलिकति घाम, अलिकति तनावले पनि टाउको बल्किन शुरु हुन्थ्यो उनको। यी यावत कठिनाइहरुबाट छुटकारा पाउनको लागि खोजेको टेकासो फेरि पनि गर्ल्यामगुर्लुम ढल्यो। अब फेरि पनि के भनी ढाँटू उनीहरुलाई ! एक महिना पनि बितेको छैन उनीसँग अन्तिमपटक फोन भएको।

भन्दैं थिइन्, “अब भैगो, जति गरे पनि त्यता जागिर पाउन गाह्रो रैछ, फर्किहाल्नुस्। यतै घाँसदाउरा गरेर दिन बिताउँला। बच्चाबच्चीको माया सम्झेर भए पनि आइ दिनुस् । ‘बाबा ! बाबा !’ भन्दै दिनरात रोइरहन्छन्। आफैलाई सम्झाउनुभन्दा उनीहरुलाई सम्झाउन गाह्रो भैरहेको छ। टाउको झन् छिटोछिटो दुख्दै छ।”

“त्यता तिर पनि त आउन जोखिम कायमै छ भन्छन्।” मैले उत्कर्षतिर गैरहेको द्वन्द्वको संकेत गरेँ। “छैन। आज भोलि धेरै कम छ हाम्रो गाउँ घरतिर। टाढाटाढा मात्र जोखिम होला । यता छैन।”

“होस् । सानोतिनो जागिरी भेट्टाएकै छु। यसले मलाई खान पुगिहाल्छ। अब तिमीहरुले त्यहाँबाट गाईभैँसी बेचेर पठाउनु पर्दैन। अनि सुन त !” “सुन्दै छु। आउँदिन भनेर फकाउनलाई त होला ! के सुन्नू ?”

“त्यसो होइन के ! यो पटक मेरो पक्का नाम निस्कन्छ। अब रिजल्ट हुन एक हप्ता मात्र बाँकी छ। नाम निस्कियो भने बेकारमा आऊजाऊ मात्रै हुन्छ। तसर्थ अब एक मात्र हप्ता धैर्य गर है ?”

“सधैँ त्यही त भन्नुहुन्छ।” उनी सुँकसुँकाउन थालिन्।

“पहिले र अहिलेको मेरो जाँच धेरै फरक छ। पहिले लिखित पनि पास गरेको थिइन। अहिले लिखित पनि पास गरिसकेको छु नि। के किरिया खुवाउँछ्यौ ? बाजी सरम् ?”

“साँच्चि हो त ?” उनले भकभकाउँदो स्वरमा केरकार गरिन्।

“हो के साँच्चि !”

“मैले पनि भगवानसँग प्रार्थना गरि रहेकी छु। कुलदेउतालाई धजा चढाउन पठाएकी छु। डिग्रेसँग भाकल गरेकी छु। नाम निस्किए त हुन्थ्यो !” यति भनी नसक्दै क्वाँक्वाँ रोइ दिएकी थिइन्। अनि हाम्रो फोनसम्पर्क विच्छेद भएको थियो ।

फोन कटिसकेपछि पनि उनको रूवाइले धेरैपटक मेरा आँखाबाट आँशु निचोरि रहेको छ।

उनले त्यतिबेला ताततातो खबर सुनाइहोलिन् बच्चाबच्चीलाई, “अब छिट्टै बाबासँग भेट हुन्छ !”  भनेर । प्रतिक्षाको घडीभित्रको सुई बनेर उफ्रँदै घुमे होलान् बच्चाबच्ची त्यति बेला।

उनीहरुले अरु केटाकेटी साथी जम्मा गरेर भनेहोलान्, “एइ, तिमीहरुलाई थाहा छ ? यो पटक त हाम्रा बाबा पनि छिट्टै आउनुहुन्छ रे घरमा। उहाँले ल्याइदिएको मिठाइ तिमीहरुलाई पनि दिउँला है ?”

मेरो असफलताको खबरले कति दुखाउला उनीहरुको अधैर्यको सीमा नाघ्न थालेको मनलाई ? प्रेसरका बिरामी आमाबा खबरले प्रेसर अनियन्त्रित भैदियो भने ? साथीसँगिनीहरुले, “खै त आएनन् त लोग्ने ?” भन्दा मुख छोपेर भक्कानिइहोलिन् उनी । बच्चाबच्चीहरुले फेरि पनि बाबा नआउने भए भनिदिए उनीहरुको अबोध र कमलो मनमा कति ठूलो आघात पर्ला ?

ठूली छोरी त बुझ्ने पनि भैसकी। सायद मरिसकेको बाबालाई आउँछ आउँछ भनेर फकाइरहेका छन् कि ? भनी शंका पनि गरी होली। फोन के हो ? थाहा छैन उनीहरुलाई। फोन गर्न खलंगा पुगेकी आमा दूरसंचारको अफिसमा दिनभरि लाइन लागेर फर्किँदा बाटोसम्मै आएर सोध्छन् रे, “टाढाको मान्छेसँग कसरी कुरा हुन्छ आमा ?” जे जवाफ दिए पनि बुझ्दै बुझ्दैनन् रे उनीहरु।

अब फेरि कति कुराउने उनीहरुलाई ? ६ महिना ? एक वर्ष ? दुई वर्ष ? वा कति वर्ष कुराउने ? कुनै निश्चितता छैन। कुनै जवाफ छैन मसँग। भाइ प्रकाश मिनभवनमा सरकारी जागिरी खाँदै थियो। त्यसताका ऊसँगै बसिरहेको थिएँ म।

लोकसेवाको जाँचमा कुनै प्रगति नहुने देखेपछि मैले लगनखेलस्थित जुपिटर स्कूलको शिक्षक जागिरीमा आफूलाई अल्झाएको थिएँ । दिनभर पूरै आठ पिरियड पढाउनुपर्थ्यो । दिनभर विद्यार्थीसँग कराउँदाकराउँदा बेलुकापख थकानले लखतरान पर्दै गठ्ठाघरस्थित डेरामा आइपुग्थेँ। त्यसपछि अबेर रातिसम्म कापी जाँच्नुपर्थ्यो । भोलिपल्ट पढाउनुपर्ने पाठहरुको बिहानभरि पुनरावलोकन गर्थेँ । खाना खाइरहेको बखत दैनिक पाठयोजना बनाउँथेँ । अत्यधिक परिश्रमले स्वास्थ्य बिग्रिँदै गैरहेको थियो । रुघाखोकीले च्याप्दै लगेको थियो।

स्कूले जागिरीले शुरुशुरुमा राम्रै अनुभूति दिलाएको थियो । प्रिन्सिपलले औधि प्रशंशा गर्थे मेरो ।थोरै समयमा बाँकी शिक्षक र विद्यार्थीहरुसँग झ्याम्मिइसकेको थिएँ । समयान्तरमा मप्रतिको प्रिन्सिपलको नजर भने ओरालो लाग्यो। घरिघरि प्रिन्सिपलले ‘अझै परफर्मेन्स देखाउन’ नसके जागिरी चड्काइदिने धम्की दिइरहन्थे । मैले ‘अझै परिश्रम गर्नेछु’ भनेर हरेक दिनजसो कबुल गर्नुपर्थ्यो । मैले सक्दो थप परिश्रम पनि गर्थेँ । मेरो परिश्रम भने उनको नजरमा बालुवामा पानी खन्याए बराबर भैरहेको थियो।

त्यसै अवधिमा लोकसेवाको प्रशासन नासुतर्फको लिखित परीक्षामा नाम निस्किएको थियो। त्यसको तात्तातो खबर घरमा पठाइ दिइ सकेको थिएँ । त्यो खबर सुनेर कति रमाए होलान् आमाबा पत्नी र केटाकेटीहरु।

लिखितमा नाम निस्किए पनि मौखिकमा नाम निस्कने कुनै ग्यारेन्टी थिएन। पचपन्नजना पदमा एकसय दुईजनाको लिखितमा नाम निस्किएको थियो।

इन्टर्भ्यूको लागि थप तयारी गर्न सकिन। न रेडियो सुन्ने फुर्सद थियो, न त पत्रपत्रिका पढ्न । म स्कूल माया मार्न सक्दिनथेँ । मौखिकमा जतिसुकै तयारी गरे पनि लिखितमा कम नम्बर आएको भए नाम निस्किँदैन । मौखिकमा खासै नम्बरको अन्तर हुँदैन भन्ने पनि सुनेको थिएँ। यसले गर्दा बल्लतल्ल भेट्टाएको शिक्षक जागिरी त्यागेर तयारी गर्न आँट नै आएन । अतः मौखिकमा पनि नाम निकाल्नु मेरो लागि फलामका चिउरा चपाएसरि थियो । स्कूलबाट हटाइएला भन्ने पीरले लिखितमा नाम निस्किएको जानकारी दिएको थिइनँ स्कूलमा।

इन्टर्भ्यूमा सोधिएका प्रश्नहरुमध्ये केही अझै याद छ मलाई। नेपालमा कतिवटा अन्तर्राष्ट्रिय विमानस्थल छन् ? भन्ने एक प्रश्नको जवाफमा दुईवटा भनि दिएको थिएँ, एउटा त्रिभुवन विमानस्थल र अर्को गौतमबुद्ध। अर्को प्रश्न थियो मेलम्ची सम्बन्धमा । मैले काठमाण्डौमा मेलम्चीको पानी आइसकेको जवाफ दिएको थिएँ।

कारण के थियो भने दुइटै हल्ला चलेको एक दशक भैसकेको थियो र मैले जागिर भेट्टाएको चारपाँच महिनाको अवधिमा त्यो काम सम्पन्न भैसक्यो होला भन्ने ठानेँ । म कुनै समाचारमा पनि अपडेट हुन सकिरहेको थिइन। इन्टर्भ्यूमा आखिर यी लगायत आधाजसो प्रश्नहरु गलत नै दिएछु मैले। अत : मलाई इन्टर्भ्यूको कारणले पास हुनसक्तिन भन्ने चीसो पहिल्यै पसिसकेको थियो।

तर लिखित परीक्षामा भने राम्रै गरेको थिएँ। प्रश्नको जवाफ राम्रै दिइएको थियो । बीसभन्दा माथि नै अब्जेक्टिभ मिलेका थिए । सब्जेक्टिभ पनि राम्रै भएको थियो। कापी थपी थपी लेखेको थिएँ जवाफ। उल्टोपाल्टो भएको जस्तो लाग्दैन। इन्टर्भ्यूमा खासै फरक पर्दैन भन्ने सुनेको थिएँ। यति गर्दा त लिखित परीक्षाकै नम्बरको कारणले पनि नाम त निस्कनुपर्ने। फणिन्द्र कति तकडा थियो र उसको त नाम निस्कियो रे।

भोलिपल्ट बिहान चित्त नबुझी प्रकाशलाई सोधेको थिएँ, “राम्रोसँग हेर्न पठाको हो र प्रकाश ?”

“हेरिदिनु भने पछि राम्रैसँग त हेरिदिएहोलान् नि, हिजो भट्टलाई हेर्न पठाएँ, दाइको नाम भेट्टाइन भन्थ्यो। म आज ओझालाई हेर्न पठाउँछु है त ?” भन्दै ऊ मिनभवनतिर लाग्यो।

मेरो नाम निस्कियो कि निस्किएन भनेर ऊ पनि रिजल्ट आफै हेर्न लोकसेवा आयोग अफिस जान सकेको छैन। आउँदो बुधबार मात्र गोरखापत्रमा छापिन्छ। म पनि आफै गएर रिजल्ट हेर्न भ्याएको छैन । सायद समयको पावण्यले भन्दा पनि हेर्ने डरले आफूलाई यथार्थ जानकारीबाट वञ्चित तुल्याएको छु। अहिलेसम्म त झिनो आशा बाँकी नै रहेकोले दुर्घटना केही भएको छैन । म आफै हेर्न गएँ भने रिजल्टसिटमा नाम नदेख्दा त्यहीँ डङ्ग्रङ्ग लडुँला वा क्वाँक्वाँ रोइदिउँला भन्ने डर र लाज दुवै छ। प्रकाश पनि उस्तै सानो मुटुको । ऊ आफै गइदिए पनि हुने !

प्रकाशको फोन आयो। म नै पहिले बोलेँ, “आज हेर्‍यौ ? पक्का नाम छैन त प्रकाश ?” “कति मन सानो बनाउनुहुन्छ ? यो पटक नभए के भयो त ? अर्को पटक निस्केला नि।”

‘नाम निस्किएछ दाइ !’ भनेर भन्ला भनेको उसले त मलाई फकाउन पो थाल्यो । हत्पताउँदै फेरि केरकार गरेँ, “उसो भए नाम निस्किएकै हो त ?”

“ओझाले पनि भन्दै छ, ‘ओली’ जात नै भेट्टाइन भनेर।” ऊ अलि झर्केजस्तो गर्‍यो।

म खङ्ग्रङ्गै भएँ । छातिभित्र भरिएको बादल उसरी नै आँखा मुखबाट निस्कनथाल्यो । फोन फ्याँकेर क्वाँक्वाँ रून थालेँ । आज नै सबै आँशु रित्याउँछु भनेजस्तो गरी आमाबाको आशा सम्झिदै रोएँ । पत्नीको दुखाइ सम्झिदै रोएँ । बच्चाबच्चीको पर्खाइ सम्झिँदै रोएँ । रुँदारुँदै भुसुक्कै निदाएछु। जब उठेर घडी हेरेँ बेलुकाको छ बजिसकेको रहेछ। प्रकाश अझै आएको छैन।

ऐना हेरेँ आँशु बगेका चेप्राहरु गालाभरि थिए। आफैदेखि झनक्कै रिस उठ्यो। आफ्नै गालामा एक चड्कन लगाएँ, “तँ कोठामा लुकेर आँशु छाड्न हुने, तर रिजल्ट हेर्न नहुने डरपोक ? जा आफै हेर्न मर ।  त्यहाँ आफ्नो नाम नदेख्दा लडेर घाइते भइस् भने पनि तँलाई उचित सजाय हुनेछ। आत्महत्या नै गरिस् भने पनि पृथ्वीको एकाँश बोझ घट्ला । जा रिजल्ट हेर्न आफै जा । आफै निश्चय गर् । जा गइहाल् । निस्किहाल् ।”

मनले मलाई धकेल्दै धकेल्दै गठ्ठाघर बसपार्कमा पुर्‍याइ छाड्यो। मिनिबसमा खालि सिट हुँदाहुँदै पनि बस्न पनि सकिन। बसको डण्डी समातेर उभिइरहेँ । बस हुँइकिएर एकैछिनमा माइतीघर पुगिदिए हुन्थ्यो जस्तो लाग्यो । जेठमास भएकोले रात पर्न अझै डेढ घण्टा बाँकी थियो । भक्तपुरे बस के को हुँइकिन्थ्यो ! गठ्ठाघरमै पन्ध्र मिनेट रोक्यो । कौशलटार, लोकन्थली, जडीबुटी, कोटेश्वर, तीनकुने, मीनभवन, नयाँवानेश्वर, बिजुलीबजार, बबरमहलका प्रत्येक स्टपमा पट्यारलाग्दो कुराइ कुर्दाकुर्दै माइतीघर पुग्दा साढेसात बजाइदियो । अँध्यारो हुँदै थियो । आफूलाई धकेल्दै हुत्त्याउँदै थापाथलीको पश्चिमपट्टि रहेको सानो गल्लीभित्र पट्टि रहेको मध्यमाञ्चलको लोक सेवा आयोगको कार्यालयमा पुर्‍याएँ ।

त्यहाँ रिजल्ट हेर्ने कोही पनि बाँकी थिएन । लामो भित्ताभरि रिजल्टका पानाहरु टाँसिएका थिए। केही च्यातिइसकेका थिए। सबै भन्दा ताजा पानातिर आँखा दौडाएँ। अन्तिमको पचपन्नौँ नम्बर भेट्टाएपछि यही नै आफ्नो रिजल्टसिट हुनुपर्छ भन्ने अनुमानले माथितिर हेर्दै गएँ । त्यही पानाको केही माथि फणिन्द्रको नाम पनि भेट्टाएँ । उसको नामले हो या ग्यास्ट्रिककले हो घाँटीबाट मुखतिर अमिलो पदार्थ उलुक्क आयो । उसको नामको पहिचानले पक्का यही नै आफ्नो रिजल्टसिट हो भनी ढुक्क भएँ । ढुक्क के हुनुथियो झन् ढुक्ढुक हुन थाल्यो । पानाको माथितिर नजर उचाल्दै लगेँ । नजर जतिजति माथि पुर्‍याएँ अँध्यारोको कारण उतिउति अक्षरहरु मधुरा हुँदै गए । जतिजति अक्षर मधुरिँदै गए उतिउति झिनो आशा पनि मधुरिँदै जान थाल्यो । सकीनसकी नाम पढ्दै गएँ । जिउभरि पसिनाका धारा छुटिरहेका थिए । अब यति माथि तेरो नाम हुनै सम्भावना नै छैन, छोड्दे भन्थ्यो एक मन। अर्को भन्थ्यो यहाँसम्म मुन्टिएको छस् नहेरेर किन भाग्छस् ?

शिरानतिर रहेका करिब एकदर्जन नाम पढ्न बाँकी नै थिए । अँध्यारोले गर्दा पढ्न कसैगरी सकिएन। सायद लोडसेडिङले होला बिजुली बत्तीको व्यवस्था पनि थिएन। नभन्दै जातिको एउटा अक्षर ली प्रष्ट देखेँ । जातको शब्दभन्दा अगाडि एउटा मात्र अक्षर थियो । म रोमाञ्चित भैहालेँ । मुटु बाहिरै खस्ला झैँ झन् झन् जोडसँग उफ्रन थाल्यो। जात भन्दा अगाडि मधुरो कालो डल्लो मात्र देखिन्थ्यो । त्यो अक्षर कसैगरी पढ्न सकिन।

“एऽऽऽ के गरेको त्यो ? रिजल्ट च्यात्न खोजेको ?” यसैबेला गार्डले हप्कायो।

“हैन दाइ। च्यात्न खोजेको भए पहिल्यै च्यातिसक्थेँ । मैले पनि इन्टर्भ्यू दिएको थिएँ। नाम निस्कियो कि भनी नाम हेर्दै छु।”

“के हो नाम ?”

“पूर्ण बहादुर ओली।”

“छैन त्यस्तो नाम यो लिष्टमा। भोलि उज्यालो हुँदैन ? हेर्नलाई भोलि उज्यालो नै नहोला भनेजस्तो के मरिहत्ते गरेको ?

“नाइँ के दाइ। म आफ्नै आँखाले चित्त बुझाउन चाहन्छु । बिन्ति छ, टर्च वा केही उज्यालोको व्यवस्था गरिदिनू न !”

उसले मलाई धकेल्दै गल्लीको बाहिरपट्टि पुर्‍यायो र गल्लीमा रहेको खिया लागेको पुरानो टिनको ढोका ढ्याम्म लगाइदियो।

म बाहिर धपाइए पछि निरुद्देश्य थापाथलीको शून्य सडकमा उभिइरहेँ।

के त्यो रिजल्टसिटको जात ओली नै होला त ? के ओलीको अगाडि बहादुर नहोला त ? के बहादुरको अगाडि पूर्ण नहोला त ?

आफ्नो नाम रिजल्टसिटमा भएको कल्पना गर्ने बित्तिकै छाति फैलिँदै जान्थ्यो।

‘छैन होला गौली पनि हुन सक्छ। कपाली पनि हुनसक्छ। ज्ञवाली पनि हुनसक्छ।’ प्रतिवादी मन विरोध गर्थ्यो

‘तीन अक्षरको जात थिएन त्यो। ओली हुन पनि सक्छ नि !’ आशावादी मनले आश गर्न छोडेको थिएन।

‘छैन छैन, आश नगर् !’

“भक्तपुर ! भक्तपुर ! भक्तपुर लाष्ट बस !!” मेरो अगाडि भक्तपुरे गाडी घचक्क रोक्यो। ‘लाष्ट बस’ शब्दले म झल्याँस्स भएँ र हत्तपत्त बसमा कोच्चिएँ। रातभर तन भित्रका दुइटा मन बाझाबाझ गरिरहे ।एउटाले नाम छ भन्थ्यो अर्कोले छैन भन्थ्यो। आँखा झिमिक्क नचिम्लेर बिहानको तीन बज्यो।

“ओहो हिजोजस्तै बसले दुईघण्टा लगाइदिनसक्छ, अब रिजल्ट हेर्न गए हुन्छ ।” विपरीत मनले नाइनास्ती गरेन। आशावादी मनले बिहानै धरमरो शरीरलाई धकेल्दै गठ्ठाघर चोक पुर्‍यायो। सडक सुनसान थियो। जेठमास भए पनि बिहानीपख भक्तपुरमा औधि जाडो हुँदो रहेछ। आधा घण्टा बिताउँदा जिउ जाडोले लुगलुग काँप्न थालिसकेको थिएँ। चारबजे तरकारी बोक्ने गाडी आइपुग्यो । धन्न उसले चढ्न दियो।

शून्य सडकमा त दश मिनेटमै थापाथली पुगिँदोरहेछ । सवाचार नबज्दै म लोक सेवा आयोगको गेटमा हाजिर भइहालेँ । गेट लगाइएकै थियो। हिजोको गार्डको गलहत्तीपन बिर्सेको थिइनँ। कुकुरहरु झ्याँउँझ्याउँ भुकिरहेका थिए । म फरक्क फर्केर सडकमा आएर उभिएँ । बिचबिचमा गेट खुल्यो कि भनी हेर्न गइरहेँ । गेट खुल्न घण्टौँ लाग्यो र त्यो घण्टौँ मलाई जुगौँ बिताएसरि भयो।

नभन्दै सातबजेतिर गेट खुल्यो र म हतारिँदै सूचनाबोर्डतिर हुत्तिएँ। तलतिर अब हेर्न आवश्यक थिएन।

मलाई त्यो ‘ली’, ‘ओली’ नै हो कि होइन छुट्याउनु थियो।

निज्याएर हेरेँ ‘ओली’ नै रहेछ म आफ्नो मुटुसँगै बुर्लुक्कै उफ्रिएँ।

‘खबरदार ओली देख्नेबित्तिकै उर्लनुपर्ने कारण के छ र ?’ प्रतिवाद गर्‍यो प्रतिवादी मनले,

जात अगाडि बिचको शब्द हेरेँ ‘बहादुर’ पनि रहेछ। फेरि अरु एकबित्ता उफ्रिएँ।

‘नाम नि नाम ? नाम अर्कैको पनि हुनसक्छ नि !’ फेरि निहुँ खोज्यो नकारात्मक मनले,

नाम पनि हेरेँ ‘पूर्ण’ नै थियो ।जीउ रोमाञ्चित भएर रननननन रन्कियो।

फेरि दोहोर्‍याएर पढेँ त्यो रिजल्टसिटको दशौँ नम्बरमा ‘पूर्णबहादुर ओली’ नै थियो।

म हर्षोन्मादले अब टाउको समातेर क्वाँ क्वाँ रुन थालेँ।

‘थुक्क नामर्द पाजी ! जाबो लोकसेवामा नाम ननिक्लिँदा पनि क्वाँ क्वाँ पो रुँदोरहेछ ? गरी खाने बाटा अनेक छन् मूला।

जा बाहिर ।” उही गार्ड आएर मलाई तथानाम गाली गर्दै  धकेल्न थाल्यो।

“नधकेल्नू न दाइ ! म फेल भएर रोएको होइन। पास भएछु क्या !”

“एहे, यो त नभन्दै पिरले बहुलाइ सकेछ !” उसले धकेल्दै हुत्त्याउँदै फेरि मलाई बाहिर पुर्‍यायो। उसले अब जति बाहिर पुर्‍याए पनि म लोकसेवाको विशाल आँगनमा भित्रिइसकेकोमा ढुक्क भएको थिएँ । यो खुशी पहिले प्रकाशसँग साट्छु भनेर ल्यान्डलाइन फोन खोज्न थालेँ । थापाथली भरि मिठाइ तथा अन्य मेशिनरी पसलहरु मात्र थिए । सार्वजनिक फोन भेट्टाउन माइतीघरसम्मै पुग्नुपर्‍यो।

फोन भेट्टाएपछि घरबेटीलाई प्रकाशलाई बोलाइदिनू भन्दै फोन लगाएँ। ऊ फोनमा आएपछि भनेँ, “प्रकाश म पनि पास भएछु। “हो र साँच्चै ? धेरै राम्रो भयो । ल बधाइ छ !” उसले पनि औधि खुशीले काँपेको आवाज निकाल्यो । केही बेर रोकिएर सोध्यो, “अनि रोलनम्बर पनि हेर्नु भएको हो ?” ला मैले त रोलनम्बर हेर्नै बिर्सेछु ! मेरो खुशी एकसय डिग्रिबाट जिरो डिग्रितिर झर्न थाल्यो । नौनारी खिचिएझैँ भयो । हातगोडा लल्याकलुलुक भए । हातबाट फोनको रिसिभर भुइँमा झर्‍यो।

‘फोन गर्ने पनि ढङ्ग छैन ?” पसलेले हप्कायो। कमिज र पाइन्टका जम्मै गोजीहरु छामेँ भेटिएन। रिजल्ट हेर्न आउँदा प्रवेशपत्र बोक्नै बिर्सिएछु। ‘नाम सबै मिलि सके पछि रोलनम्बर पनि मिलिहाल्छ नि त्यतिविधि नहडबडा न ।’ आशावादी मनले थामथुम पार्‍यो। उताबाट प्रकाशले फोन गर्‍यो, “फोन किन काट्नु भयो दाइ ?” उसले पनि तर्सिएको स्वर लगायो।

“आफै काटियो । अनि सुन् ! त्यहाँ ज्ञानेश्वरको मोटो गाइडमा मेरो प्रवेशपत्र छ । हेरेर रोलनम्बर टिपाइदे त। प्रकाशले नम्बर टिपाइदियो, मैले दोहोर्‍याइतेहर्‍याइ टिपेपछि दौड्दै एकै सासमा लोकसेवा आयोगको गेटभित्र पसेँ । रोलनम्बर जोर्‍याएँ, ठ्याक्कै मिल्यो । यसपटक खुशीको उभार मात्रै उम्लियो, खुशीका आँशु भने उम्लिएनन् । पहिल्यै रित्ति सकेछन्।

‘ला यो त फेरि आइपुगेछ !” गार्ड फेरि मेरो अगाडि हप्काउँदै उपस्थित भयो, “अस्पत्तालमा मालिक मरेपछि कुकुरले सधैँ अस्पत्ताल धाएझैँ यसले पनि अब लोकसेवा नछाड्ने देखियो ।” मैले उसलाई दिने कुनै उचित जवाफ भेट्टाइन । सिर्फ भनेँ, “दाइ, मेरा आँखा अलि कमजोर छन् । मैले भेट्टाउन सकिन । यो नम्बर छ कि छैन हेरिदिनू न !” उसले मेरो हातबाट नम्बर भएको कागज लियो र रिजल्टसिटमा आफै खोजिदिन थाल्यो । नम्बर भेट्टाएपछि भन्योः “नाम के हो ?”

मैले नाम बताइदिएपछि नाम पनि मिलेको देखेर अलिकति खुशी भएझैँ भन्यो, “तिम्रो आफ्नै हो कि अरुकै हो ?” “मेरै हो दाइ मेरै हो। कसम मेरै हो ।” मैले उसलाई ढाँट्न आवश्यक ठानिन। नाम र नम्बर मिलेपछि अनुहारमा एकप्रकारको चमक ल्याउँदै भन्यो उसले, “ल बधाई छ सर। मैले हेरि दिएका रिजल्टमा आजसम्म कोही पनि फेल भएको छैन । तपाईँको भाग्य रहेछ र मलाई नै नम्बर हेर्न लगाउनुभयो । यो खुशियालीमा एककप चियासम्म खुवाउनोस् न त सर अब ।”

पास भएको देख्ने बित्तिकै गार्डले आफूलाई सम्मान गर्न थालेको देखेर मेरो छाति फुल्यो। उसलाई चिया खाने पैँसा दिएर म त्रिपुरेश्वरतिर कुदेँ, जहाँ आवा अफिस थियो । त्यहाँबाट आमाको नाममा आवा पठाएः- “आमा मैले लोकसेवा पास गरेँ। बुहारी र बच्चाबच्चीलाई अब खुशी होऊ भनिदिनुहोला।”

त्यस दिन खुशियाली मनाउन म स्कूल गइन । दश नबज्दै प्रिन्सिपलको फोन आयोः “यतिबेरसम्म नआउने कहाँ हुनुहुन्छ तपाईँ ? एकदिन नआए तीन दिनको तलब काटिदिन्छु नि म । थाहा छ नि मेरो बानी ?” “बिरामी भएँ आउन सकिन। नसके म के गरुँ त सर ? एकै हप्ताको काटिदिए पनि हुन्छ, म आज आउन सक्दिनँ ।” मैले फोन राखिदिएँ। बेलुका फेरि उनले सोधेः “भोलि त आउनुहोला जसरी पनि ।” उनले सन्चोबिसन्चोको कुरा सोधेनन्।

“सन्चो भए आइहाल्छु नि, नसके आउँदिनँ ।” मैले पनि उनलाई ढिप्क्याएँ । एक मन थियो अब लोकसेवामा नाम निस्किइ सकेपछि बेकारमा किन स्कूल गइरहूँ ? अर्को मनले भन्योः आफूले पढाएका विद्यार्थीहरु धेरै प्यारा भैसकेका छन् । शिक्षकहरु पनि निकटस्थ भैसकेका छन् । उनीहरूलाई जानकारी नै नदिएर स्कूल छाड्न हुँदैन ।

नियुक्तिपत्र पनि त हात लागेको थिएन । मेरो भविष्यको के ग्यारेन्टी छ र ? नियुक्ति हात नपरुन्जेल स्कूल त जानैपर्छ ।लोकसेवाका रिजल्ट नै रद्द भएका पनि उदाहरण छन् रे। म भोलिपल्ट स्कूल गएँ ।स्कूल छोड्ने कुरा राख्न निकै गाह्रो भैरहेको थियो मलाई ।

जानेबित्तिकै प्रिन्सिपलले हकारेः “तपाईँलाई म पूरा तलब दिन सक्दिन । तपाईँले राम्रो परफर्मेन्स देखाउनुहोला भनेर पो यति धेरै तलब दिएको थिएँ । अब पहिलो पटक एकहजारले घटाइ दिन्छु। त्यसपछि पनि राम्रो गर्नसक्नुभएन भने के हुन्छ आफै सोच्नुहोला ।”

मैले ढुक्कसाथ भनेँ “हस् सर । म राम्रो गर्न प्रयास गर्नेछु । तपाईँको नै चित्त बुझाउन सकिन भने त जागिरका अवसर मेरा लागि अन्त पनि थुप्रै होलान् नि ।” आँखामा आँखा जुधाउँदै मैले निर्धक्क भनिदिएँ ।

ईलामतिरका राई थरका प्रिन्सिपल थिए । झण्डै साढे छ फिट अग्ला । मोटोघाटो जीउ र हिडाइ नै हात्तीजस्तो थियो ।यामानका छाती र पाखुराहरु थिए ।आँखा सधैँ राताराता हुन्थे । खस्रो-टर्रो बोली थियो । म मात्र होइन अरु कुनै पनि शिक्षक-विद्यार्थीले यसरी उनीसँग सिधा प्रतिउत्तर गरेको आजसम्म थाहा थिएन मलाई ।

म उठेर आफ्नो कक्षामा पुगेँ । बच्चाबच्चीहरु अभूतपूर्व मायालाग्दा देखिए । मैले पढाउँदै पनि गएँ, घरिघरि स्कूल छोड्नसक्छु भन्ने भाव पनि देखाउँदै गएँ । दिउँसो मध्यान्तरमा विद्यार्थीहरुले मलाई कुनै पनि हालतमा स्कूल छाड्न नदिन डेलिगेशन लिएरै प्रिन्सिपलसम्म पुगेछन् ।

उनीहरुलाई आआफ्नो कोठामा फर्काए पछि प्रिन्सिपल मउपर खनिए, “छोड्ने भए स्कूल सुटुक्क छोड्ने ! बच्चाहरुलाई उचालेमा राम्रो हुनेछैन । ओके ?” मतिर राताराता आँखा पल्टाए उनले।

“साँच्चिकै म यो स्कूल छोड्न चाहन्छु सर।”

“ए त्यसो पो हो ? ओके, ओके केही छैन। बाँकीबक्यौता एकपैँसा पनि पाइँदैन नि फेरि ।”

मैले पुनः निर्धक्क भनिदिएँ, “ओके सर ओके।”  म जुरुक्क उठेर अर्को कक्षातिर लागेँ । मेरो अविचलित स्वरले उनी निकै विचलित भैसकेको अनुमान लगाएँ मैले।

कक्षा नसकिँदै मलाई प्रिन्सिपलले बोलाए र भनेः “अर्को स्कूल भेट्टाएर छोड्न खोजेको हो ?”

“हजुर सर।” मैले ढाँटिदिएँ।

“कति दिन्छ रे तलब ?”

“चार हजार दिन्छु भनेको छ।”  यस स्कूलमा म पैँतीस सयमा जागिरी खाइरहेको थिएँ । त्यति बेला त्यो रकम पनि राम्रै मानिन्थ्यो।

“जाबो पाँच/पाँचसय बढी दिँदैमा एउटा स्कूल छोडेर अर्को स्कूल जान्छु भन्न लाज लाग्दैन तपाईँलाई ? अलिकति पनि इमान्दारी रहेनछ है तपाईँमा ?”

“के गर्नु त सर त्यस्तै पर्‍यो मजबुरी । मलाई पैँसा, डर, धम्कीभन्दा पनि दया, माया, मित्रता बढी मन पर्छ त्यसैले ।” म शान्त अविचलित नै रहेँ।

“भो छोडिदिनुहोस् । तपाईँमा इमान नभए पनि तपाईँको पैँसाको लोभलाई घृणा गर्दै म नै दिन्छु पैँतालीससय रुपैँया । जानुहोस् अब अर्को कक्षामा।”

“जाँदिन सर।”

“किन ?”  आँखामुख खुम्च्याउँदै उनले ममाथि चिल्ने नजरले डस्न थाले।

“बिहान एकहजार घटाइदिन्छु भन्नुभएको थियो। अहिल्यै के त्यस्तो पर्फर्मेन्स देखाएँ र तलब बढाइदिनुहुन्छ तपाईँले ?” मैले प्रतिवाद गर्न खोजेँ।

“प्रतिप्रश्न मलाई मन पर्दैन भन्ने थाहै हुनुपर्ने हो तपाईँलाई। जानुस् सुटुक्क कक्षामा।”

म उनको आज्ञा शिरोपर गर्दै पुनः अर्को कक्षामा पुगेँ । कक्षामा पढाइको सँगसँगै आफूले स्कूल छाड्नुपर्ने अवस्था सिर्जना हुनसक्ने कुरा फेरि पनि गरेँ ।ती विद्यार्थीहरुले पनि कुनै हालतमा मलाई स्कूल छाड्न नदिने भन्दै थिए, ” यदि हजुर नजिकको स्कूलमा जानु भयो भने हामी पनि सबै त्यहीँ जानेछौँ ।”

अर्को कक्षाबाट अफिस कोठामा के फर्किएको थिएँ । फोन कलब्याक गर्नु रे भनेर नम्बर छोडिएको खबर जीवन सरले दिए।

दिइएको नम्बरमा फोन लगाएँ । जुवाइँ जनक भण्डारीको अफिसको नम्बर रहेछ । उनले बधाईका साथ ठूलोठूलो स्वरमा खुशीयाली प्रकट गर्दै लामै कुरा गर्न पो थाले । मेरो कुरा सुनिरहेका जीवन सरले सुइँको पाइहाले। म कक्षामा हिँडेपछि त्यो कुरा पुनः प्रिन्सिपलकहाँ पुगेछ। कक्षाबाट फर्किएपछि प्रिन्सिपलले अर्को स्कूलसँग वाचा गरेको पक्कापक्की ठानी मसँग थप दुखेसो प्रकट गरे।

म त्यस दिन लोकसेवा कार्यालयमा पनि छिरेँ। त्यहाँ नियुक्ति दिन अझै एक हप्ता ढिला हुन गएको जानकारी पाएँ। भोलिपल्ट बिहानै प्रिन्सिपलले फोन गरे, “तपाईँसँग जरुरी कुरा गर्नुछ। आठबजे नै स्कूल आइ पुग्नुहोला।” म उनले भने सरि बिहान आठैबजे स्कूल पुगेँ।

उनी एकदमै नम्र र सौहाद्र रुपले प्रस्तुत भए। त्यति भयंकर मान्छेलाई त रिसरागभन्दा पनि शालिनता, नम्रता भव्य खुल्दो रहेछ। मैले त्यति सुन्दर उनलाई आजसम्म कहिल्यै देखेको थिइन। उनले मलाई चिया खुवाउँदै बोर्डर्सलाई ट्यूशन पनि पढाइदिन आग्रह गरे। खान र बस्नको पैँसा नलाग्ने वचन दिए । यति गरेर पनि थप आठहजारसम्म दिन सक्ने प्रतिज्ञा गरे। त्यतिबेला त्यो पारिश्रमिक सचिवको पनि पुगिसकेको थिएन।

मैले कति लुकाइरहूँ भनेर लोकसेवामा नै नाम निस्किएकोले अब मैले जुनसुकै हालतमा पनि स्कूल छोड्नैपर्ने बाध्यता सुनाएँ। आजसम्म सही कुरा नबताउनु ढाँट्नको लागि नभई आफ्नो स्कूल छोड्नुपर्दाको पीडाले बताउन नसकेको भन्दै क्षमा मागेँ ।

उनले, सरकारी सेवामा जाँदा के के थप सुविधा पाइन्छ ? भनी सोधे । मैले, विदा, उपचारखर्च, सञ्चयकोष, उपदान, निवृत्तभरण आदि लगायत थुप्रै सुविधा पनि पाइने जानकारी गराएँ। उनले ती सबै सुविधाहरु यही स्कूलबाटै उपलब्ध हुने वचन समेत दिए। मैले नाइँनास्ति गरिरहनुको सट्टा ‘बिचार गरौँला’ भन्ने मात्र जवाफ दिनसकेँ।

भोलिपल्टबाट नियमित रुपमा पढाउन थालेँ । लोकसेवामा नाम निस्किएकोले जसरी पनि स्कूल छोड्ने हल्ला विद्यार्थीहरुबिच पनि फैलिइसकेछ । मैले नछाड्न पनि सक्छु भन्ने खालको धरमरो जवाफ नदिइसकिन । प्रिन्सिपलले त्यसै दिन बाँकीबकौता सबै भुक्तानी दिलाइदिए । नाफै भयो, उनले नदिएको भए पनि त्यो पैँसा त्याग्ने अठोट गरि सकेको थिएँ ।

स्कूले बच्चाहरुको आँशुसँग आफ्नो आँशु साट्दै एक हप्तापछि म त्यस स्कूलबाट विदाइ भएँ । विदाइ भएर फर्किए पछि स्कूलमा आफूले प्रस्तुत गरेको ढाँटछल र अभद्रताप्रति पछुतो लागिरह्यो । एउटा प्राइभेट स्कूलको कुशल सञ्चालन तथा व्यवस्थापन गर्न नेतृत्वकर्ताको हैसियतले प्रिन्सिपलले गरेका सबै कार्यहरु जायज मात्र होइन अनुकरणीय पनि थिए भन्ने कुरा मनन गर्न पुगेँ ।

स्कूलबाट बिदाइ भए पनि नियुक्तिको सिफारिश भने अझै हात परिसकेको थिएन। अन्तिमको यस स्कूल सहित मैले शिक्षण पेशामा झण्डै चौध वर्ष बिताइसकेको थिएँ । जुन अवधि सीतारामले वनमा बिताएजत्तिकै थियो ।यस अवधिमा खेप्नुपरेका क्रिडा र पिडाहरु पनि वनवासमा बिताएसरहकै थिए ।

म रुकुममा रहँदा लवाइखवाइमा जति बेपरवाह हुन्थेँ, यताको आर्थिक विपन्नता, कामको चाप तथा मानसिक तनावले खासै परिवर्तन हुनसकेको थिइनँ। पहिल्यै दुब्लोपात्लो ख्याउटे थिएँ, यो अवधिमा अझै दुब्लाएको थिएँ । हातखुट्टा सिन्काझैँ भएका थिए । दारीजुङा कपाल उति काट्दिनथेँ । आँखा भित्र भित्रै गढ्दै गएका थिए । पुरानै लुगाहरु भिरेर हिँड्थेँ । लुगाहरु शरीरमा अझै खुकुला हुँदै गएका थिए। सरकारी सेवा पास गर्नु भनेको अनावश्यक रुपमा शरीरमा छ्यापिएको द्वन्द्वको हिलो स्वतः पुछिएसरह भएको थियो मलाई । मैले यसलाई सन्तुष्टिको आधार मानेको थिएँ।

म सचेत थिएँ कि अब सरकारी जागिरेमा यसो कदापि गर्नुहुन्न । दिनहुँ नयाँ लुगा लगाउनुपर्छ। दारीजुङ्गा दिनहुँ काट्नुपर्छ। अब पोषिलो खानाहरु खानुपर्छ । तनावमुक्त भएर खुशी हुन सक्नुपर्छ । यसो गरेमा मात्र मेरो शरीरमा मासु पलाउँदै जानेछ।

मैले सरकारी जागिरमा हाजिर हुन जानकै दिनमा लगाउनलाई नयाँ लुगा सिलाएर र नयाँ जुत्तामोजा किनेर राखिसकेको थिएँ। दुई महिना जति त कपाल नै काटेको थिइन र काट्नलाई नियुक्ति बुझ्ने दिनको बिहान पर्खिरहेको थिएँ । दारीजुङ्गा नकाटेको पनि हप्तादिन पुगि सकेको थियो।

एकदिन प्रकाशले फोन गरेर भन्योः “लोकसेवाले नियुक्तिको सिफारिश दिन थाल्यो रे दाइ। तपाईँ पनि गइहाल्नुस् ।”

“आ हुन्दे । म भोलि जाउँला।”

“आजै गए के बिग्रियो त ? लोकसेवाबाट सिफारिश बुझेर आजै ल्याउनुहोस्। खटाएको ठाउँमा भोलि गए भैहाल्यो नि।” उसले यति भनेर फोन राखिहाल्यो ।

मैले आफैसँग मन कुरा गरेँ।

‘हुन त हो ।तर दारी कपाल केही काटेको छैन ।कपाल काट्नै एकदुई घण्टा लाग्ला । कपाली नकाटी किन नुहाऊँ ? ननुहाइ किन नयाँ लुगा लगाऊँ ?’

आफ्नो शरीरतिर हेरेँ पाइतालाका चुँडिएका चप्पललाई छूँछूँ गरेजसरी जाँघे झुण्डिएको थियो।

‘त्यहाँ मलाई चिन्ने को छन् र ! आ’ यस्तै गइदिन्छु लोकसेवामा । सिफारिश दिए नदिएको आज बुझ्छु मात्रै । भोलि नियुक्ति नै बुझुँला ।’ डेरामा लगाएका लुगा कुनै फेरबदल नगरी छ्याप्प मुखमा पानी मात्र छ्यापेर म थापाथली तिर हानिएँ ।

मेरो चालढाल र रुपरङ्ग देखेर लोकसेवाका कर्मचारीले पत्याउँदै पत्याएनन् । नियुक्तिको सिफारिश दिन थाल्यो भन्ने कुरामा भने म सुनिश्चित भैसकेको थिएँ ।मेरो नियुक्तिको सिफारिश वाणिज्य विभागमा भएको रहेछ भन्ने कुरा पनि जानकारी पाएँ । मलाई यतिबेला चाहिएको पनि यति नै थियो।

“पास हुने मान्छे आफै आउनुपर्छ नियुक्ति बुझ्न !” त्यहाँका कर्मचारीले दोहोर्‍याइतेहर्‍याइ मलाई सुनाए “अरुलाई नियुक्ति बुझाइँदैन है !” उनले मलाई अर्कैको नियुक्ति बुझ्न आएको शंका गरे भन्ने प्रष्ट भयो ।

‘भोलि नै लिउँला के बिग्रन्छ र ? बबरमहलमै रहेछ क्यारे अफिस !’ भन्दै त्यहाँबाट फर्किएँ। गेट क्रस गरेर अघि के बढेको थिएँ बाइकमा आइरहेका रमेशकुमार केसीसँग (हालः सहसचिव नेपाल सरकार) जम्का भेट भयो । यिनी मेरा भूतपूर्व विद्यार्थी। तीन चारवर्ष अघि नै यिनले शाखाअधिकृतमा नाम निकालि सकेका छन्।

उनले मलाई नियुक्तिको सिफारिश बुझे नबुझेको कुरा सोधे। मैले नबुझेको कुरा बताएँ।

“आजै किन नबुझ्ने ? सरकारी जागिरेमा एकदिनको पनि ठूलो अन्तर हुन्छ। आज यहाँसम्म आइसकेपछि लिएरै गए भैहाल्यो।”

म अकमकाएँ र मनमनै भनेँ ‘हुन्छ नि त आज नियुक्तिको सिफारिश लिएर कोठामा राख्छु र भोलि पदस्थापनको नियुक्ति लिन कार्यालय जान्छु।

रमेशजीले चिनेका कर्मचारी रहेछन् त्यहाँ। उनले सिफारिश गरिदिनेबित्तिकै नियुक्तिको सिफारिश मेरो हात परिहाल्यो।

उनले भने, “आउनुहोस् मेरो बाइकमा म पुर्‍याइदिन्छु।”

“कहाँ  ?” भनेर सोधे पनि जवाफ नपर्खिएर उनको बाइकमा चढिहालेँ। त्यति बेला अर्काकै बाइकमा चढ्न पाउनु पनि ठूलो गर्वको कुरा हुन्थ्यो।

“तपाईँको नयाँ अफिसमा नि ! अन्त कहाँ  ?” उनले बाइक बबरमहलतिर हुँइक्याए।

“नाइँ नाइँ। आज अफिस त जाँदिन। दारीजुङा नकाटेको एकहप्ता भैसक्यो।

हाफपाइन्ट र छिनेका चप्पल लगाएर कसरी नयाँ अफिस जानू ? मलाई यतै झारिदिनुहोस् ।”

हामी माइतीघरको चोकमा पुगि सकेका थियौँ।

“गोली मार्दिनुस् ती कुरालाई। भोलिदेखि राम्रा लुगा लाउनुहोला। आजभने अफिस जानैपर्छ।”

“नाइँ क्या नाइँ !” भन्दा भन्दै उनले आफ्नो बाइकमा वाणिज्य विभाग लेखेको विशाल अफिसको कम्पाउन्डभित्र पुर्‍याइहाले । मेरो हातको नियुक्ति उनले नै समातेर मलाई डोर्‍याउँदै ‘शाखाअधिकृत प्रेमप्रसाद घिमिरे’ नेमप्लेट लेखेको कोठाभित्र पुर्‍याए। प्रेम सरले मेरो अवस्था सर्सर्ति हेरे र अलिकति व्यङ्ग्य मुस्कान हाँसे। अनि लोकसेवाबाट  उपलब्ध मेरो प्रोफाइल अध्ययन गरे र अर्कोचोटी मित्रवत् मुस्कानले अघिको मुस्कानको क्षतिपूर्ति दिलाइ दिए। किन भने मेरो फाइलमा लोकसेवाको सिफारिशपत्रसँगै स्नातकतहका तीनवटा संकायमा उत्तीर्ण प्रमाणपत्र र पचपन्न सालको अर्थशास्त्रमा स्नातकोत्तरतह प्रमाणपत्रका फोटोकपि पनि संलग्न थिए। उनले त्यो फाइल लिएर हामीलाई पछि लाउँदै निर्देशक गजबहादुर रानाको कोठामा पुर्‍याए । त्यहाँ पनि राना सरले पालैपालो दुवै खालको मुस्कानले मेरो स्वागत गरे। उनले निर्णय उति खेरै तयार पारे र भनेः “आज महानिर्दशकज्यू आउने नआउने ठेगान छैन। आज गए हुन्छ। भोलिदेखि नियमित हाजिर हुनुहोला।” त्यस बखत महानिर्देशक कृष्णहरि बास्कोटा भने बाहिर गएका रहेछन्।

रमेशजीले बबरमहलमा रहेको आफ्नो अफिसमा पनि जान कर गर्दै थिए। मैले मान्दै मानिनँ र उनको बाइकमा चढ्दै चढिन। सायद पैदल आएको भए त्यही हालतमा आफ्नो अफिससम्म पनि पुर्‍याउँदा हुन् उनले। उनको सादगीपनमा आजसम्म पनि कुनै फेरबदल आएको रहेनछ। अरुलाई हेर्ने दृष्टिकोण पनि अत्यन्तै सुन्दर। मलाई त्यहीँ छोडेर उनी आफ्नो अफिसतिर लागे। मैले वाणिज्य विभागको गेट बाहिर ननिस्किउन्जेल काँडामा टेकेको जस्तो अनुभूति गरेँ । यस्तो अनूभूति हुनुको कारण खोतल्दै एकपटक आफूलाई नियालेँ।

मैलिएर कट्कटिएको जाँघे छिन्नै आँटेको कम्मरबाट अझै तलतिर सर्न बल गर्दै थियो। त्यसको माथिल्लो भाग छोप्न कुमतिर च्यातिएको मैलो हाफसर्ट अपर्याप्त थियो। फिता छिनेर गाँसिएका पाइताला भन्दा पनि लामा चप्पल बल्लतल्ल खुट्टाका ‍औँलामा अड्किएका थिए। टाउको छामेँ कपाल कान छोपेर तलसम्म लठ्ठा परेर झरेको थियो। अनुहार छामेँ झुस्स परेका दारीजुङाले हत्केलालाई नै कोतरे। सिन्का जस्ता फुस्रा हातखुट्टा र भावभङ्गीले बुख्याँचाको झझल्को दिन सफल थिए।

त्यो दिन थियो दुई हजार सन्ताउन्न साल साउन नौ गतेको। जागिरको पहिलो दिनमा नै नयाँ अफिसमा यो तमाशा देखाइ सकेँ, भोलिदेखि कसरी लाउनेहोला भर्खरै सिलाएका नयाँ लुगा ? लाजले भुतुक्क हुँदै म पनि एक्लै एक्लै हाँसि रहेँ। सरकारी जागिरी प्रवेशको त्यो हर्षाश्रु, त्यो उमंग, त्यो उत्साह अहिले उन्नाइस वर्षपछि भने शून्यको नजिक-नजिकतिर घस्रि रहेको छ। लेखक पूर्ण ओली हुन्

Loading...

प्रतिकृया लेख्नुहोस्: