आश्विन १ गते, २०७६

जसको लागि बाँच्छु भनेको थिएँ, ऊ नै अहिले छैन यो संसारमा

पटक हेरिएको

ऊ मेरो सबै भन्दा सानो शिष्य । उमेरले छ वर्षको मात्र । मेरो शिक्षण पेशाको अन्तिम तिरको शिष्य पनि ऊ नै भयो र सबै भन्दा छोटो समयको शिक्षार्थी पनि ऊ नै भयो । उसलाई मैले एउटा स्कूलको शिक्षकको नाताले जम्मा चारपाँच दिन मात्र पढाउन पाएँ ।

उसले गठ्ठाघरको एक बोर्डिङ स्कूलमा पढ्न थालेको थियो । उसलाई मैले नै ‘उसको घर’ बाट बोकेर ल्याएर स्कूलको बेन्चमा बसाल्थेँ । आधा घण्टाजति आमा, बाबा, दिदी, भाइ, माया, खानु, बस्नु आदि नेपाली शब्दहरुको अंग्रेजीमा उल्था गरेर बुझाउँथेँ । उसको हात समात्दै कापीमा लेखाइ दिन्थेँ । वाक्यमा प्रयोग गर्न सिकाउँथेँ । ऊ खुब ध्यान दिएर ती शब्दहरु घोक्थ्यो । ती शब्दहरुलाई वाक्यमा प्रयोग गर्न उत्सुक हुन्थ्यो ।

पिरियड सक्किए पछि म बाहिर निस्कन खोज्थेँ । ऊ ओठ पिलपिलाएर रुन खोज्थ्यो । मैले “चुप् ! चुप् !! ठूलो मान्छे बन्न रुनुहुँदैन !!!” भन्दै अर्ति दिन्थेँ । ऊ सकीनसकी रुवाइका हिक्का पिएर बस्थ्यो ।

बेलुका उसलाई लिन स्कूलमा पुग्दा ऊ गह भरि आँशु भरेर मलाई एक्लै पर्खिरहेको हुन्थ्यो, बाँकी सबै विद्यार्थीहरु निस्कि सकेका हुन्थे । मलाई देख्ने बित्तिकै झ्वाम्मै मेरो अंगालोमा बेरिन्थ्यो ऊ । उसलाई बोक्दै मैले सोध्थेँ:-
“कति पढ्यौ आज ?”
“धेलै !”
“स्कूल राम्रो लाग्यो ?”
“अँ !’ उसले सकारात्मक जवाफलाई टाउको तलमाथि र नकारात्मक जवाफलाई टाउको दायाँबायाँ हल्लाएर मेरा सोधनीका जवाफ दिँदै जान्थ्यो ।
“यहीँ पढ्छौ त ?”
“अँ !”
“खाजा खायौ ?”
“नाइँ !”
“सबैभन्दा राम्रो टिचर को लाग्यो ?”
“तपाईँ !” भन्दै ऊ मेरो गालामा म्वाइँ खान्थ्यो । मेरा गहभरि आँशु उमार्थ्यो ऊ ।
खाजाको कुरा सोध्दा नाइँ भन्ने जवाफले मन अमिलिन्थ्यो । टिफिनको समयमा अरु विद्यार्थीका अभिभावकहरुले खाजा ल्याएर आआफ्ना बच्चालाई खाजा खुवाउँदा ऊ टुलुटुलु हेरेर बसेको कल्पना गर्दथेँ । मलाई भाउन्न भएर आउँथ्यो ।

उसले बुझ्ने र व्यक्त गर्नेसम्म थोरै थोरै शब्दमा थोरै थोरै कुराकानी गर्दै मैले ‘उसको घर’ सम्म छोड्न जान्थेँ ।

ऊसँगै ओपेन्द्र दाइका दुई बच्चाहरु पढ्दथे । मेरो सानो शिष्य र उनीहरुको तत्कालीन अवस्थामा धेरै फरक थियो । उनीहरु दिनभरि आफ्नै अभिभावकको छेउमा बस्दथे । ओपेन्द्र दाइले पनि त्यही स्कूलमा पढाउथेँ । आफ्नो अभिभावक आफूहरुसँगै नहुँदा पनि उनीहरु दुईभाइ भएकोले एकअर्काका साथी हुन्थे । उनीहरुको झोलाभरि उनीहरुकी आमाले तयार पारिदिएको टिफिन पनि हुन्थ्यो । उनीहरु घरमा पुगेर आफ्नी आमाको अँगालोमा बेरिन पाउँथे ।

स्वामित्वको हिसाबले त्यो स्कूल त्यतिबेला ओपेन्द्र दाइ र मेरो पनि थियो ।

०००

म सिम्रुतु छोडेर काठमाण्डौ आएपछि घरका परिवार बाहेक बाँकीसँग सम्पर्क विच्छेद गरेर बसेको थिएँ । सूर्यविनायक तिर बस्ने भएको हुँदा त्यहाँसम्म कुनै रुकुमेली पनि पुग्दैनथ्यो । भक्तपुर हेर्न आउनेहरु दरबार स्वायरसम्म हेरेर फर्किसक्थे । घरपरिवारको निकटस्थ व्यक्ति बाहेक कसैसँग पनि भेट हुँदैनथ्यो मेरो । म लोकसेवाको तयारी गरेर बसेको थिएँ । यसरी अत्यन्तै पट्यारलाग्दो र भयावह गुप्तवासमा म एकवर्षजति बसेँहुँला ।
ओपेन्द्र दाइ पनि शिक्षकको जागिरी छोडेर काठमाण्डौ आइपुगेछन् । उनी काठमाण्डौ आइपुगेपछि केही महिनापछि भेट भयो हाम्रो । मजस्तै उनी पनि बेखर्ची भैसकेका थिए । म भाइ प्रकाशको आश्रयमा बसेको थिएँ । सबै खर्चपर्च उसैले टार्दथ्यो मेरो ।

भेट हुने बित्तिकै ओपेन्द्र दाइलाई पनि लोकसेवाको तयारी गर्न सुझाएँ । सँगै बसेर पढ्दा लोकसेवा पास गर्न सजिलो हुने भन्दै फकाएँ । उनले त्यतातिर उति दिलचस्पि लिएनन् । मेरो पनि लोकसेवा तिरको एकदुई प्रयास खेर गैसकेको थियो ।

यदि त्यसबेलाको मेरो सल्लाह उनले मानेकै भए ओपेन्द्र दाइ अहिले कतै खरदार सुब्बातिर अड्किएर समायोजनको बिरोधमा सडक तताइरहेका भेटिन्थे होला । राष्ट्रिय समाचार समितिको महाप्रबन्धकको कक्ष बाहिर कहाँ ओपेन्द्र दाइको नेमप्लेट झुन्डेको हुन्थ्यो र यतिखेर ? जब म सिँहदरबार आसपासमा रल्लिरहेको हुन्छु, त्यसबेला लाग्छ, उनले मेरो सुझाव नमानेर ठीकै गरेछन् !

लोकसेवा तयारी गर्दैमा नाम निस्कने कुनै ग्यारेन्टी पनि त थिएन ।
उसै त म सधैँ तनावमा हुन्थेँ । घरनजिकैको हाइस्कूलको शिक्षकको जागिरी छोडेर आएको थिएँ । घरमा तीनवटा दूधेबच्चाहरुलाई निरिह उनकी आमासँग छोडेर आउनुको पीडा भिन्नै थियो ।

अहिलेको जस्तो फोनको सर्वसुलभता थिएन । नजिकैको दूरसँचारमा गएर कुरा गर्न हप्तौँ लाग्थ्यो र पैँसा पनि धेरै लाग्थ्यो । प्रतिमिनेट २१ रुपैँयासम्म । २१ रुपैँयामा दुईछाक भात आउने जमाना थियो । पाँच मिनेट मात्रै कुरा गर्दा पनि १० छाकको खर्च स्वाहा हुन्थ्यो । यता खर्चले फिटिफिटि पारिरहेको थियो । काठमाण्डौ बसाइको प्रकाशले खर्च त बेहोरेकै थियो, आठदश महिना बेहोर्नलाई समस्या पनि थिएन होला । तर बेहोर्ने कहिलेसम्म ? न त्यसको ऊसँग जवाफ हुन्थ्यो, न मसँग नै हुन्थ्यो ।

यस्तै मानसिक सन्ताप भोगिरहेको बखत ओपेन्द्र दाइ भेटिएका थिए । उनले मेरो समेत भलो हुने योजना समेत बोकेर ल्याएका रहेछन् । सायद यो सूचना कतै पत्रपत्रिकाको विज्ञापनमा भेटिएको पनि हुनसक्थ्यो ।
एकजना गठ्ठाघर निवासी सानोठिमी क्याम्पसका प्रोफेसर श्रेष्ठ थिए तिनताका । उनको आफ्नै घरमा बोर्डिङ स्कूल थियो । त्यो स्कूल विधिवत दर्ता पनि भएको थियो । डेस्कबेन्च, कोठाहरु, शैक्षिक सामग्रीहरु लगायत बोर्डिङलाई चाहिने सबै प्रकारका भौतिक पूर्वाधारसम्पन्न थियो त्यो । मुख्य समस्या के थियो भने त्यो स्कूलमा विद्यार्थीहरु नै थिएनन् ।

स्कूल किन्न आउने लगानीकर्ताहरुको पनि घुइँचो लाग्थ्यो दिनभरि प्रोफेसर श्रेष्ठको घरमा । प्रोफेसरसँग उनीहरुको कुरा मिलिरहेको थिएन ।
यसैगरी हामीहरु पनि उनको सम्पर्कमा पुग्यौँ । हामीसँग पनि वृहत छलफल भयो । उनकै शेयरमा सहभागी भइदिए धेरै लगानी गर्नु पनि आवश्यक नपर्ने देखियो । उनी यसै त क्याम्पसका प्रोफेसर उनको लेक्चर निकै लोभलाग्दो थियो । स्कूल राम्रोसँग सञ्चालन गर्नसकिएमा आफ्नो पनि ख्याति बढ्ने र महिनामै लाखौँ कमाइ हुने आधार र प्रमाण पेश गरे उनले । अविश्वास गर्ने ठाउँ कहीँकतै छाडेनन् । चारपाँच हजारको जागिर छोडेर आइएको थियो । महिनामै लाख रुपैँया आम्दानी हुने सजिलो बाटो भेट्टाएपछि न लोभिने को होला र ?

ढुङ्गो खोजि रहेको बेला देउता नै भेटिएको अनुभूति भयो हामीहरुलाई । बीसबीसहजार मात्रै लगानी गरेर काठमाण्डौमा वर्षौँ पहिले स्थापना भैसकेको बोर्डिङ स्कूल नै आफ्नो हुनेभयो । कति सजिलो काइदा ! ओपेन्द्र दाइले त तुरुन्तै पैंसा खोजेर ल्याइहाले । मलाई पर्‍यो मुश्किल । प्रकाशको तलब नै तीनहजार जतिको थियो । त्यति त डेराभाडा लगायत दुईदुई भाइको खानेबस्नेमै खर्च भैहाल्थ्यो । तापनि आफ्नो बचत र साथीभाइसँग कारकुर पारेर दशहजार दियो । त्यही लगेर बुझाइदिएँ । पाँचहजारजति घरबाट मगाएँ । ब्याउने भैँसी बेचेर पठाइदिएछन् घरबाट । भैँसी ब्याउला र दूध खानपाउँला भनी पर्खेर बसेका बच्चाहरुको अवस्था के भयो होला त्यति खेर ? कबुल गरेको थप पाँच हजार भने बुझाउन सकिरहेको थिइन ।

स्कुलको लागि लगानी गरि सकेपछि अब मुख्य काम विद्यार्थी खोज्नु थियो । मैले लोकसेवाको भव्य तयारीलाई लात मारिदिएँ । ओपेन्द्र दाइका पनि थिए होलान् समान महत्त्वका अन्य योजनाहरु । उनले पनि लात मारे होलान् ती योजना ।

दुईभाइ अब बेसरी जम्न थाल्यौँ, जसरी सिम्रुतुमा जमेका थियौँ । बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म कौशलटार, गठ्ठाघर, सानोठिमी, पुरानोठिमी, बालकोट, नयाँठिमीसम्मका घरघरै चहार्न थाल्यौँ । कुनै पनि घर नबिराएर । स्कूलको ब्रोसर छपाएका थियौँ । ब्रोसरमा स्कूलको सुन्दर फोटो थियो । डेष्क, बेन्च तथा कक्षाकोठाका आकर्षक फोटोहरु टाँसिएकै थिए । सुविधा सम्पन्न स्कूलमा हुने अन्य भौतिक तथा शैक्षिक सामग्रीहरुका आकर्षक फोटाहरु पनि थिए ब्रोसरमा । तीनतीनजना शिक्षाशास्त्रमा स्नातकोत्तर उत्तीर्ण र बाँकी सबै शिक्षाशास्त्रमा स्नातक उत्तीर्ण शिक्षकहरुबाट मनोवैज्ञानिक ढङ्गले अध्यापन हुने विज्ञापन पनि थियो । त्यो देखाउँदै आफ्नो स्कूलमा बच्चा भर्ना गरिदिन बजारबजारमा घरघरमा अनुनय विनय गर्दै हिँड्थ्यौँ ।

कहिले दुवै भाइको गोजीमा पैँसा हुँदैनथ्यो दिनदिनभर भोकभोकै स्कूलको प्रचारप्रसार गर्थ्यौँ । कहिले चिया बिस्कुटसम्म खाएर अभियानमा लाग्थ्यौँ । उनी त्यतिबेला कुपण्डोलमा बस्थे । म सूर्यविनायकमा । दुवैको निवासस्थल टाढाटाढा थियो । कोठा पुगेर खाना खाने फुर्सद नै कहाँ थियो र ?
जुन घरमा अघिल्लै वर्षहरुमा त्यस स्कूलका शेयरहोल्डरहरु पुगिसकेका थिए, उनीहरुले ओठ लेब्र्याइदिएर फर्काइदिन्थे । जुनजुन घरमा पूर्वटोली पुगेको हुँदैनथ्यो, तिनीहरुलाई लोभ्याउन ब्रोसरको भाषाको साजसज्जी पर्याप्त नै थियो । अर्को स्कूलमा आफ्ना बच्चाहरु पठाउने निश्चय गरिनसकेकाहरु हाम्रो ब्रोसरको जालमा परिहाल्थे ।

यसरी करिब एकमहिनाजतिको कठीन परिश्रमबाट त्यो बोर्डिङको लागि तीसपैँतीसजना विद्यार्थीहरु खेर्न सफल भयौँ हामीहरु । जब टिचरको कुरा आयो, त्यसमा ती प्रोफेसरकै अनुभवी र आइएड पास भान्जालाई राखिने भयो । एकदुई पिरियड प्रोफेसरले नै पढाउने भए । थप एकदुईजना उनकै भतिजाभतिजी पनि थिए क्यारे । शिशु कक्षाका विद्यार्थीले बीसौँ वर्ष क्याम्पसमा अध्यापन गरेका प्रोफेसरबाट पढ्न पाउने जस्तो भाग्य सबैको चाँदोमा कहाँ लेखिएको हुन्छ र ? हाम्रो अनुनयविनयले बल्लतल्ल ओपेन्द्र दाइलाई पनि शिक्षक नियुक्तिमा छिराइयो । म भने अटिन । व्यवस्थापन सहयोग गर्ने जिम्मेवारी नै मलाई भारी थियो ।

दाइले आफ्ना दुईभाइ छोराहरु आफूसँग ल्याएर त्यसै स्कूलमा पढाउन थाले । मेरो पनि कान्छो छोरो दुईतिन वर्षको मात्र भए पनि ठूली छोरी र ठूलो छोरो भने बोर्डिङमा पढ्न योग्य भैसकेका थिए । तर उनीहरु गाउँकै सरकारी स्कूलमा पढ्दै थिए । यता ल्याउनसक्ने कुनै सम्भावनाहरु बाँकी थिएनन् ।

हामीले सञ्चालन गरेको विद्यालयमा अब शिक्षकहरुलाई तलब खुवाउने र घरभाडा तिर्ने समय आइसकेको थियो । प्रोफेसर श्रेष्ठ आफै त्यो प्राइमरी स्कूलको एकाउन्टेन्ट थिए । विद्यार्थीहरुबाट उठेको मासिक फिस र शुरुको भर्ना फिसको बाँडफाँडको कुरा निस्कने बित्तिकै ‘हाउसरेन्ट फस्ट’ भन्ने अत्तो थापिहाले उनले ।

हाम्रो तर्क थियो घरभाडाको हिसाब पछि गरौँला, पहिले शिक्षकहरुलाई तलब दिऔँ ।

उनी भन्थेः “स्थिर पूँजीको हिसाब नभई चालु पूँजीको हिसाब कसरी हुन्छ ? घर स्थिर पूँजी हो, शिक्षक चालु पूँजी हो !”

म पनि उनीजस्तै अर्थशास्त्रकै डिग्रिहोल्डर भएको नाताले मैले भन्थेँ: “घर पो स्थिर पूँजी हो त, घरभाडा त चालु पूँजी होइन र ?”

उनी मजस्ता आलाकाँचा थिएनन्, बीसौँ बर्षका अर्थशास्त्रका अनुभवी थिए । सायद यही स्कूल चलाएको पनि दशौँ वर्षको अनुभव थियो होला, दर्शन छाँटेर बुझ्न बाध्य पारिहाल्थे : “के पढ्नुभयो पूर्णजी तपाईँले ? धत्तेरिका ! लाजको मर्नू ! भाडा मात्र पो चालु पूँजी हुन्छ, भाडामा घर जोडिएपछि त्यो त स्थिर पूँजी भैहाल्यो नि !”

जति बहस गरे पनि अन्तिममा उनको घरभाडा नतिरी हामी सुख्खै पाउँदैनथ्यौँ ।

ओपेन्द्र र मबीच छलफल हुन्थ्यो एकान्तमा, “लक्षण राम्रो देखिएन, डुब्छ कि क्या हो लगानी ?”

हामीलाई सम्झाउने र सम्हाल्ने त्यहाँ कोही थिएन । आफैलाई सम्झाउनु थियो र आफैलाई सम्हाल्नु थियो ।

निश्कर्ष निस्कन्थ्यो: “यो लगानी भनेको एकदुई महिनामै उठ्ने लगानी होइन । हामीले सुदूर भविष्य हेर्नुपर्छ । भर्खर दुई महिना पूरा हुँदैछ । विद्यार्थी थपिने क्रम जारी नै छ । एकदुई वर्षपछि त किन नउठ्ला र ?”

त्यसो त अरु काम पनि त थिएन हाम्रो । तोकिएको शेयरको रकम जसोतसो बुझाइसकेका थियौँ । बिहान-बेलुका भेटेर घरघरमा विद्यार्थी खेर्न जाने अभियान रोकिएको थिएन । अब पैँतीसबाट पचासजना विद्यार्थी पुगिसकेका थिए । यो हाम्रो लगानीको सुखद पक्ष थियो ।

उता जति विद्यार्थी थपिए पनि उनीहरुबाट उठेको शुल्क घरभाडामै सकिन्थ्यो । त्योबाट बचेखुचेको पैँसा शिक्षकको रुपमा खटिएका उनकै भान्जाभान्जीलाई दिन नै पुग्दैनथ्यो । ओपेन्द्र दाइ बेफ्वाँकमा पढाइरहेका थिए ।

तेस्रो महिनादेखि हाम्रो स्कूलमा विद्यार्थी थपिनुको साटो एकएक गरी त्यो स्कूल छोडेर अर्को विद्यालयमा भर्ना हुने क्रम जारी भैसकेको थियो । उता विद्यार्थी घटिरहेका थिए, यता हामी दुईभाइबीच तिक्त सम्बन्ध उत्पन्न भइहाल्यो । भैँसी बेची ऋण कारेर जुटाएको लगानी ओरालो लाग्दै गरेको देखेर हामी रुन मात्र सकेका थिएनौँ ।

ओपेन्द्र दाइ भन्थेः “यो अवस्था सिर्जना भएको तैँले गर्दा हो ।”

मैले भन्थेँ : “तिमीले गर्दा नै हो ।”

०००

यसै बीचमा एकदिन बिहानै मेरो घरभेटीले आफ्नो लाइनफोनमा मेरो फोन आएको खबर गरे । यो नम्बर कि त ओपेन्द्रसँग थियो कि घरपरिवारसँग मात्र थियो । अरुलाई थाहै थिएन । म त्यही अनुमानमा फोन उठाएँ ।

उताबाट आएको फोनको स्वर कसको थियो ठम्याउनै सकिन । मेरो दिमाग त गठ्ठाघरवरिपरि मात्रै घुमिरहेको थियो त्यतिखेर । उनले आफ्नो नाम पनि शुरुमा बताएका थिएनन् । सर्प्राइज दिनु थियो कि ?
उनले, “मलाई नचिन्ने भए, यसलाई चिन्नुहुन्छ कि ? ल कुरा गर्नुहोस् !” भनी अर्कैलाई फोन सुम्पिए ।

“हेलो ?” मैले व्यग्रतापूर्वक सोधेँ ।

“बाबाSSSSS !!” उताबाट मेरो स्वर सुन्नेबित्तिकै बच्चो रोएको आवाज आयो ।

मैले स्वर चिनिहालेँ । ऊ मेरै छोरा थियो ।
मैले खुशी हुँदै उसलाई सोधेँ, “कहाँ छौ बाबु तिमी ?” त्यो कलरआइडि वाला फोन थिएन । नत्र अड्कल गर्दो हुँ ।

“म थाइँला मामा र थुथिल दादासित काथमान्दु आथु ।”

उसको साइँलामामा डम्बर खडका थिए । उसको दादा सुशिल खडका थिए । डम्बरले फोन उठाएपछि उनले भान्जालाई समेत ल्याएर आफू सानोठिमी आइपुगेको जानकारी दिए । म हत्तपत्त सानोठिमी पुगेर बच्चोलाई लिएर सूर्यविनायक फर्किएँ ।

“बाबा ? यो हाम्लो घल हो ?”

“हो बाबु, हो । तिम्रै घर हो यो ।” उसको उत्साह सेलाउन दिन चाहिन मैल ।

“अलु को बस्थन् ह्याँ ?” उसले खुशी हुँदै लाडिँदै सोध्यो ।

“तिनीहरु पाहुनाहरु हुन् । बिस्तारै तिमी पनि चिन्दैजान्छौ तिनीहरुलाई ।”
मैले डेरालाई उसकै घर भनेर ढाँटिदिएको थिएँ ।

त्यसदिन दरबार स्क्वायर र नजिक नजिकका भक्तपुरका बजारहरु मात्र घुमाइदिएँ । ऊ निक्कै खुशी भयो ।

भोलिपल्ट उसलाई दशबजे नै गठ्ठाघरको आफ्नो लगानीको स्कूलमा पुर्‍याइदिएँ । एकछिन आफैले पढाएको जस्तो गरेँ । पढाएको जस्तो गर्नु भनेको मैले काठमाण्डौमा कुनै काम गरिरहेको नाटक गर्नु थियो बच्चोसँग पनि । उसको बालदिमागमा त्यो कुरा नघुसे पनि उसले बाबाले त्यो स्कुलमा पढाउँदैनन् भन्ने कुरा रुकुममा खबर नपुगोस् भन्ने चाहना थियो मेरो ।

घरमा खबर पहिल्यै गरिसकेको थिएँ कि यहाँ एउटा चालु बोर्डिङमा लगानी गरिसकेको छु र त्यही बोर्डिङमा पढाउँदै पनि छु । तलब पनि र नाफा पनि दुवै आउने भयो । अब मेरा दुःखका दिन गए ।

दुईतीन दिन यसरी नै बिते । उसलाई बिहानै खुवाउनुपियाउनु, तयार गरेर स्कूल पुर्‍याउनु, सूर्यविनायक फर्कनु, बेलुका लिनजानु, मलाई पनि गाह्रो भैरहेको थियो । उसलाई पनि त्यो अकस्मातको अंग्रेजी पढाइ ठूलो बोझ भैरहेको थियो । अरुका अभिभावकहरु दिउँसो खाजा ल्याएर आउँदा उसको कोही आउँदैनथ्यो । ऊ टुलुटुलु हेरेरै बस्थ्यो । पिलपिलाएरै बस्थ्यो । आफ्नी आमाको काख कहिल्यै नछोडेको बच्चोले काठमाण्डौको अनचिनारु परिवेश र अनचिनारु मानिससँग पढ्न के जाँगर गर्दो हो ?
दुईतीन दिनपछि भनेको थियो उसले :

“बाबा, आफ्नै घल जाऊँ !”

“यो पनि आफ्नै घर हो बाबु !”

“नाइँ बाबा । यो हाम्लो घल हैन । लुकुममा आमा, सानु भाइ र दिदी पनि थन् ।”

“सम्झना आयो तिनीहरुको ?”

उसले हो भन्ने संकेतको टाउको हल्लायो ।

“बाबा, आमा लुइलन्थिन् । त्याँपथि दिदी पनि लुन्थे, भाइ पनि लुन्थ ।”

अब रुवाइको हिक्का घाँटीभित्रै निल्दै टाउको हल्लाउने पालो मेरो हुन्थ्यो ।

“बाबा, हजुल् नजाने भए थप्पैलाई ह्याँ ल्याउँ है ?”

अनि मलाई धुरुक्कै रुवाइदिन्थ्यो उसले ।

मैले उसलाई सम्झाउन सक्दिनथेँ, ‘म घर रुकुम जान मिल्दैन !’ भनेर । मेरो त रुकुममा आतंककारीको लिष्टमा नाम थियो रे । सिम्रुतु स्कूलका तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष विश्वेश्वर पोख्रललाई हत्या गरेपछि हेडमास्टरको पनि खोजी भइरहेको कुरा उसलाई के थाहा ?

आफैलाई त हातमुख जोर्न गाह्रो भैरहेको बखत उसकी आमा र भाइबहिनीलाई काठमाण्डौमा ल्याएर पाल्न सक्दिन भन्ने कुरा ऊ अबोध बालकलाई के थाहा ?

मैले केही गर्न सक्दिनथेँ । उसलाई आँशु नदेखाउने भन्दाभन्दै बर्बर्ति आँशुको भेल बगाउँदै त्यो भेलले उसैलाई नुहाइदिन्थेँ । ऊ सुतीसुती मेरो आँशु हेर्थ्यो । कहिले आफ्ना अबोध आँशु पनि मिसाउँथ्यो । कहिले अवाक हुन्थ्यो । उसका जुनसुकै कुराले पनि मलाई रुवाइदिन्थे । यो कुरा के बुझ्थ्यो कुन्नि ? बिस्तारै उसले मसँग आफ्ना मनका कुरा पोख्नै छाडेको थियो ।

ऊ आइपुगेको तीनचार दिनपछि घरबाट मेरो आमाबा र कान्छामामा पनि काठमाण्डौ आइपुग्नुभयो । आफ्ना बाजेबज्यैलाई भेट्टाएपछि मेरो नजिक पर्न छोड्यो ऊ । मेरो माया नभएर होइन कि आफूलाई देख्नेबित्तिकै आफ्नै बाबु किन रोइरहेको छ बुझ्नै गाह्रो भैरहेको थियो होला ।

भोलिपल्ट बेलुका आमाबा घर फर्कने कुरा थाहा पाएको थियो कि थिएन थाहा भएन । त्यस रात मसँगै बस्न आयो ऊ । गलामा बेरिइरह्यो मेरो ।

म त असारसाउनको झरीमा बदलिएको थिएँ । बालमनोविज्ञान ख्याल गर्नुपर्छ भनेर आफूलाई जति सम्झाए पनि केही सिप चलेको थिएन ।

“नलुनोस् बाबा । म थुलो मान्थे बनेल तपाईँलाई हेल्प गल्थु ।” यति मात्र भनेको थियो उसले । त्यस बोर्डिङले थप शब्द हेल्प पनि सिकाइदिएकोमा मुटु ठूलो भयो मेरो ।

आफ्ना बाजेबज्यै घरबाट आएर भेट भएपछि ऊ स्कूल जान मानिरहेको थिएन । मैले पनि कर गरिन । भोलिपल्ट आफै स्कूल जान्छु भन्यो । म विश्वस्त भएँ कि उसलाई बाजेबज्यै घर फर्किने कुरा थाहा रहेनछ ।

मैले स्कूल पुर्‍याएर यसोउसो सिकाएजस्तो गरी केही समय ऊसँगै बिताएँ । आज उसलाई स्कूलमा छोडेर म आमाबालाई विदाइ गर्न बसपार्क जानुथियो ।

केही समयपछि जब म उठ्न खोजेँ, उसले मेरो गला समातेर मेरो जीउमा बेसरी बेरियो । मैले आफ्नो छातिबाट जबर्जस्ती उसलाई छुटाएर बेन्चमा राखेँ र त्यहाँका शिक्षकको जिम्मा लगाइदिएँ । ऊ चिच्याउन थाल्यो ।

म कोठाबाट निस्किएँ । स्कूलको भर्‍याङ ओर्लँदै थिएँ । ऊ भने झनझन रडाको मच्चाएर रोएको आवाज बाहिरैसम्म आइरहेको थियो । उसले पुकारा गरिरहेको थियो । त्यसमा ‘बाबा’ सम्बोधन थिएन । खालि, “बाजेsss ! बोइsss ! र आमाsss !” अलापविलाप गर्दै घाँटी सुक्नेगरी कोठाभित्र चिच्याइरहेको थियो । म स्कुलको गेटबाहिर पुगिसके पनि पटक्कै थामिएन उसको रुवाइ । रुवाइको स्वर बढि नै रह्यो ।
मैले सकिन । पाइला अगाडि बढाउन पटक्कै सकिन । अनि ऊबसेकै कोठामै फर्किएँ ।

मलाई अब रिस उठिरहेको थियो । उसको गालामा एक चड्कन हिर्काएँ । ऊ झन् कहालिएर ह्वाँह्वाँ रुन थाल्यो । उसलाई झट्कारेर पिठ्यूँमा बोक्दै बाहिरिएँ ।

ऊ बारम्बार तीन शब्द मात्र उच्चारण गरी रोइराख्योः “बाजेsss ! बोइsss ! र आमाsss !” उसको बालमनोविज्ञान किन यहाँ आएँहुँला भनी पछुताइरहेको थियो होला वा बाबुको व्यवहार गर्न नजान्ने कस्तो बाबु भन्दै मलाई धिक्कारिरहेको थियो होला ।

उसले पत्याएकै थिएन आफूलाई बाजेबज्यैकहाँ लग्दैछु भन्ने कुरा । गाडीमा चढाएपछि मिठाइ दिएर फकाउन खोजेँ । यात्रुहरुले पनि यसोउसो भनी धेरै फकाउन खोजे, तर उसको रुवाइ पटक्कै थामिएन । म उसलाई लिएर बसपार्कतिर जाँदै थिएँ ।

आमाबा र कान्छामामा हामीभन्दा पहिल्यै बसपार्क पुगिसक्नुभएको रहेछ ।
आफ्ना बाजेबज्यैलाई भेट्टाउनेबित्तिकै ऊ उहाँहरुकै अँगालोमा फालहाल्यो । अब उसको रुवाइ थामिइसकेको थियो । उसलाई थाहा भैसकेको रहेछ बाजेबोइ आजै रुकुम फर्किने कुरा । म बिलखबन्दमा परिरहेको थिएँ कि उसलाई मनाएर काठमाण्डौमै कसरी बसालूँ म ?

अब गाडी हिड्ने सुरसार गर्दै हर्न बजाउन थाल्यो । यात्रीहरु भित्र चढ्न थाले । ऊ मेरो गलामा आएर बेरियो र बारम्बार मेरो दुवै गालामा बारम्बार म्वाइँ खान थाल्यो । मैले पनि उसको म्वाइँलाई म्वाइँले नै पैँचो तिरेँ ।
“म बोइसितै जानी ! म बोइसितै लुकुम जानी !” भन्दै मसँग जिद्दि गर्न थाल्यो ।

मैले केही भन्न सकिन । आमाले भन्नुभयोः

“भैगो, उसले मान्दैन । तँलाई पनि यहाँ आफैलाई सम्हाल्न गाह्रो भैरहेको होला । उसलाई ख्वाउनेप्याउने र स्कूल पुर्‍याउने कसरी गर्लास् र ? हुन्दे ! यसलाई लिएर जान्छौँ हामी । तैँले बरु आफ्ना जहानछोराछोरीलाई पाल्नसक्ने खालको जागिरी खोजेर खा !”

“म त स्कूल पढाउँदै छु नि त आमा ।”

“तँ पढाउँदैनस् रे । कति ढाँट्छस् आफ्नो परिवारलाई ? अरु नै केही खोज् । रुकुमतिर पनि तँलाई खोजिरहेका छन् रे । मन बाँधेर राखेस् । मनमा जस्तोसुकै आँधीबेहरी उठे पनि हार नखाएस् । केही समय उता नफर्किएस् । तँलाई बाँकी राख्दैनन् उता ।” मलाई सम्झाउन खोज्दा आमाका आँखाको गहभरि आँशु उम्रिसकेका थिए ।

“आमा म पनि जान्छु तपाईँहरुसँगै । यसले पनि मान्दैन । उता गए पनि बढीमा के नै होला र ? आफूले कसैको केही बिराइएको छैन । जेलमा त हाल्लान् । मलाई जेल त यहीँ छ नि । आफ्नै परिवारको न्यानो मायाबाट विमुख भएर बस्नुपरेको छ । सुत्न खानको ठेगान छैन । भैगो अब जे होला होला, म जान्छु रुकुम ।” मैले पनि अकस्मात फर्कने निश्चित गरेको थिएँ ।

“त्यसो नभन् बाबु । हेर् यसको मुख । आफ्नो सन्तानको मुख हेर् । उता जेलमा मात्रै के राख्थे ? मारिदिन्छन् । भेट्टाउनेबित्तिकै सिध्याइदिन्छन् । तँलाई सिध्याए भने यिनीहरुको झन् कस्तो हरिविजोग होला ? मन सम्हाल् बाबु । तँ नजा । तँलाई हामी जान दिन सक्दैनौँ । ज्यान रहे न परिवारलाई सुखी तुल्याउलास् ।”

आमाले गहबाट पोखिएका आँशु पुछ्न थाल्नुभयो ।

त्यसो त मैले रुकुममा रहँदाबस्दा गरेको अपराध भनेको तत्कालीन सरकारबाट स्वीकृत विद्यालयमा स्वीकृत पाठ्यक्रमका कुराहरु रिठ्ठो नबिराएर पढाउनु । पढाइसकेर कसैको मुख पनि नहेरी एकघण्टा पैदल दूरीको निवासमा पुगेर खाना खाइवरी घुप्लुक्क सुत्नु । बिहान जुरुक्क उठ्नु । कसैको मुख समेत नहेरी फेरि विद्यालय पुग्नु र दायाँबायाँ नहेरी पुनः किताब घोकाउनु, यति मात्र थियो । तर पनि त्राही-त्राही जीवन गुजार्नुपर्ने अवस्था सिर्जना भैदिएको थियो ।

म सोचमग्न भएको मौका पारी उसले मेरो अनुहार आफूतिर फर्काउँदै, “आइ लव यु पापा !” भन्यो र अर्कोचोटी मेरो गालामा म्वाइँ खायो ।
म तीनछक परेँ । मेरो स्कूलको पढाइको कारण चारपाँच दिनमै उसले त अँग्रेजीमा “लव यु” र “पापा” भन्न पनि सिकिसकेछ । मन कटक्कै खाए पनि मेरो छाति गर्वले फुल्यो ।

आमाले आँशु पुछेर हामीतिर फर्कनेबित्तिकै उसले आफ्नी बोइको अँगालोमा हाम फाल्यो ।

बस गुड्न थालेपछि मैले छोटो अवधिको मेरो सानु शिष्यलाई हात हल्लाएर विदाइ गरेँ ।

बसमा बसिसकेपछि झ्यालबाट मुन्टो निकालेर भन्योः
“बाबा, नलुनुहोला है । म आमालाई, अनि…. दिदीलाई, अनि…. भाइलाई पनि लिएर छित्तै आउँथु ।”

ऊ घर फर्कन पाएकोमा औधि खुशी थियो । म उसँगै घर फर्कन नपाउँदा औधि दुखि भैरहेको थिएँ । न उसलाई आफैसँग राख्नसकेँ, न त ऊसँगै घरको यात्रामा जान सकेँ । गाडी अलिकति पर पुगेपछि उसलाई आमाले भित्रतिर तान्नुभयो र मेरो दृष्टिबाट ऊ ओझेलमा पर्‍यो ।

अनि मेरो पालो बसपार्कमै बसेर अहिलेसम्म कठिनतापूर्वक रोकेर राखेको वेदनालाई डाँको छोडेर ह्वाँ ह्वाँ गर्दै पोख्न थालेँ :
“बाबु, तेरै लागि बाँच्नको लागि यहाँ मैले नारकीय पीडा भोग्नुपर्ने भयो !” भनी अलाविलाप गर्दै अँध्यारो नहोउन्जेलसम्म भुइँमै बसेर रोइरहेँ रोइरहेँ ।

बसपार्कमा आफन्त छोड्न लैजान आएका मान्छेहरुको भीडमा कसैले ‘के भयो ?’ भनी आएर सोधे, कसैले वास्ता नै गरेनन् । म मात्र थिएन त्यहाँ, आफ्नै घरमा फर्कन नपाएर बसपार्क वरपर बसेर रुनेहरुको संख्या त्यतिबेला दिनदिनै बढिरहेको थियो ।

त्यस दिनपछि आफैले लगानी गरेको स्कूलमा म जान सकिन । धेरै दिन स्कूलबाट समेत बेपत्ता भएपछि ओपेन्द्र दाइ एकदिन सोध्दैखोज्दै मकहाँ आइपुगेका थिए । कुराकानीको क्रममा अब स्कूलमा पन्ध्रबीस जना मात्र बाँकी रहेको र उनीहरुको अभिभावकहरुलाई घरमै पुगेर सम्झाउन सकिएन भने ती पनि केही दिनमै अन्यत्र गइसक्ने सम्भावना व्यक्त गरे ।

हामीहरु आफ्नो लगानी डुबिसकेकोले भन्दा पनि अब के गर्ने भन्ने चिन्ताले छटपटायौँ । हाम्रा लागि भविष्यका बाटाहरु सबे बन्द भए जस्तै लाग्थ्यो ।

उनले प्रोफेसर श्रेष्ठले पठाएको कुरा पनि सुनाए “छोराको दुईमहिनाको मासिक फीस र भर्ना फीस तिर्न बाँकी छ रे तिमीले ।”

मेरो बच्चो जेठमा दुई दिन र असारमा दुई दिन मात्र त्यस स्कूलमा बसेको थियो । मैले पनि त दुई महिना पढाएको थिएँ ।

त्यतिबेला ओपेन्द्र दाइलाई शंका नगर्न आग्रह गर्दै विश्वास दिलाएको थिएँ: ‘दाइ ठीकै छ । म आफ्नै केही कार्यव्यस्तताले आउन भ्याइरहेको छैन । म छोरालाई त्यस बोर्डिङ पढाउँदा लागेको जति सबै शुल्क ल्याएर एकदुई दिनमै उपस्थित हुनेछु ।’

भोलिपल्ट मैले सूर्यविनायकको त्यो डेरा छोडिदिएँ र वानेश्वरतिर कोठा लिएर सरेँ । त्यसपछि रुकुमेलीहरुको लागि म पुनः गुप्तवास बसेँ । त्यसबेला गुप्तवास हुनु निकै सजिलो थियो । आम मान्छेहरु कसैसँग मोबाइल फोन थिएन र ल्यान्डलाइन फोनको नम्बर आफूले नबताएसम्म कसैलाई थाहा हुँदैनथ्यो । यति हो डेराको चौघेरा नाघ्नु हुँदैनथ्यो ।
अरु त अरु त्यस स्कूलका सहलगानीकर्ता र सानैदेखिका अनन्य मित्र ओपेन्द्रदाइसँग पनि त्यसै दिनदेखि सम्पर्कविहिन भइहालेँ ।

०००

म काठमाण्डौ नगएको धेरै महिना भैसक्यो ।

जब काठमाण्डौ पुगेर नयाँबाटो हुँदै भक्तपुर जान्छु मेरो हृदय चिराचिरा हुन्छ । गठ्ठाघरनेर पुग्दा मुटु भक्कानिएर आउँछ आँशुको भेल थाम्न सक्दिन म । ,

काठमाण्डौबाट भक्तपुर जान अर्को बाटो पनि उपलब्ध छ मसँग ।
तर पुरानोबाटो हुँदै भक्तपुर जान झनै सक्दिन म । किनकि पुरानोबाटोको राधराधे चोक पनि त्यही सानो शिष्यसँग सम्बन्धित छ ।

मैले आँशुको भेलमा डुब्दै जसको बारेमा यो संस्मरण लेखेँ, त्यो पात्र ‘कान्छो शिष्य’ आफ्नो संस्मरण आफै सुन्नको लागि यस संसारमा अब छैन । तीनवर्ष अघि केही राक्षसहरुले सुनियोजित तवरले पुरानोबाटोको राधेराधे चोकमा ज्यान लिइएको मेरो सानो शिष्य उही ‘परिशीलन’ थियो ।

उदेक लाग्छ मलाई तत्कालीन परिस्थिति सम्झँदा। अझै उदेक त के लाग्छ भने जसको लागि बाँच्छु भनेको थिएँ, ऊ नै अहिले छैन यो संसारमा । म भने उसैको लागि अहिलेसम्म बाँचिरहेकै छु ।

त्यो राजनैतिक परिस्थितिमा आमूल फेरबदल आइसकेको छ अहिले । तर म न त खुशीले रुकुम पुग्न सक्छु, न त काठमाण्डौ पुगेरै रमाउनसक्छु । त्यो बेलाको भन्दा पनि कठिन दिनहरु त अहिले शुरु भएका छन् मेरा ।

“लव यु अ लट ! मेरो प्यारो कान्छो शिष्य !”

लेखक : पुर्ण बहादुर ओली हुन् ।

 

Loading...

प्रतिकृया लेख्नुहोस्: