मंसिर २ गते, २०७६

“निर्दोष मान्छेलाई प्रहार गरेर पाप मात्रै हात लाग्ला”

पटक हेरिएको

रात आधा घर्कि सकेको हुनुपर्छ। तथापि निद्राले उसको नजिक पर्न अल्छि गरि रहेको छ । टाढाटाढा भागि रहेको निद्रा छोप्न कसै गरी सकेको छैन उसले । कोठा निष्पट्ट अँध्यारो छ। अँध्यारोमा नजर डुलाउनु पनि साह्रै सकसपूर्ण हुँदो रहेछ। अतः उसले टाउकोको नजिकै झुण्डि रहेको बत्तीको स्विच थिच्छ । कृतिम उज्यालो चिम हुँदै कोठा भरि पोखिन्छ । भित्तामा आजै मात्र टाँसिएका पोष्टरहरू उज्यालोले रंगमगिन थाल्छन् । लाग्छ ती पोष्टर सुन्दरता प्रस्तुत गर्न प्रतिष्पर्धामा उत्रिएका छन् । उसको मन चङ्गा बन्छ । नामै प्रेम उसको । उज्यालोको औधि प्रेमी।

रात उत्कर्ष तिर छ अपितु बाहिरको खलबलमा कुनै कमी आएको छैन । यो खलबलको कारण चाँहि उसको दाजु हो । दाजुको बिहे नजिकिँदै जाँदो छ । जतिजति बिहे नजिकिँदै छ बिहेको तयारीको तामझाममा पनि वृद्धि भैरहेको छ। तयारीको समय र चाप दिन दुगुणा रात चारगुणा बढि रहेको छ । खास गरी दिउँसोमा आफन्तजन तथा सहयोगी  पुरुषहरु खटिन्छन् भने महिलाहरु अहोरात्र । लोग्नेमान्छेहरुसँग दिन भरि दौडधुप गरेर प्रेमले आफ्नो भूमिका निभाइ सकेको छ । त्यसैले त अहिले ऊ बिछ्यौनामा पल्टिन पाएको छ । बिछ्यौना सिङ्गल छ र कोठा पनि सिङ्गल नै । अचार तथा मिठाइहरु तयार गर्ने र टपरी गाँस्ने महिलाहरुको छिल्लिएको हाँसो नजिकैको ढोकाको कापकापबाट भित्र पसि रहेको छ र उसलाई नराम्रोसँग झिज्याइ रहेको छ।

“यी आइमाइहरुलाई रातरात कति छिल्लिनु परेको होला ?” दिक्क मान्दै सुस्केरा छोड्छ। आफू भन्दा तीन वर्ष जेठो अठाह्रवर्षे दाइ दुलाहा बन्दै छ । पर्सिदेखि त ऊसँग दुलही पनि हुने छिन् । अस्तिसम्म आफूलाई एकछिन नछोड्ने दाइले अब दुलहीसँगै दिनरात बिताउने छ । यस प्रकारको सोचाइले  उसको जिउमा मीठो काउकुति चलाइ दिन्छ । यही काउकुतीले नै निद्रा परपर धपाइ रहेको हुनुपर्छ।

आग्लो लगाइएको ढोका बाहिर कसैले हल्का ‘ढक-ढक’ को स्वरले उसको ध्यान तान्छ।

“को हो ?” ऊ तर्सिनु पर्ने कुनै कारण नहुँदा नहुँदै पनि बरक्क बर्किन्छ । सिरक एका तिर मिल्काउँछ र सुत्दा खुम्चिएका लुगाहरु मिलाउन थाल्दछ ।

“ढोका खोल्नू न ! म प्रिती के !” धेरैबेरसम्म पनि ढोका नखोलेपछि प्रिती बोल्न बाध्य हुन्छे । मीठो मसिनो नारी स्वरले उसलाई अझै सशंकित तुल्याइ दिन्छ ।

“यो चञ्चली पानी खाने निहुँ बनाई आई कि ? वा मध्यरातमा पनि गणितको हिसाब बुझिन भनी सिकाइ माग्न आई कि ? वा कसैले हेप्यो भनी उजुरी ल्याएर पो आई कि ?”

ऊ अल्छी मान्दै ढोका बिस्तारै करायो मात्र पार्छ र कापबाट बाहिर चियाउँछ । ढोका बाहिर एक्ली प्रिती च्यादर अंगालो हालेर ठिङ्ग उभिइ रहेकी छे !

“के काम आयौ फेरि ?”

प्रितीले बोल्न खोजेको कुरा ओकल्नै सकिन, मुख रातो पार्दै टाउको यताउता हल्लाई मात्र ।

प्रिती उसकी आफ्नै मामाकी छोरी । एउटै स्कूलमा पढ्छे । प्रेम दशकक्षामा, प्रिती आठकक्षामा । आ-आफ्नो कक्षामा दुवै जना प्रथम । प्रितीः टिमिक्क शरीर, धिपिक्क सुन्दरता ठ्याक्कै पुतली । उमेरले आफू भन्दा तीनवर्ष मात्र कान्छी । बच्ची नै हो, तर केही समय यता स्कूले केटाहरुको नजर ऊ तिर पर्न थालेको सुइँको पाएको छ उसले । आफ्नी बहिनीप्रति कुदृष्टि राख्न खोज्नेसँग ऊ झगडा गर्दै हिँड्छ स्कूलमा । प्रीति पनि आफूलाई कसैले हेप्यो कि उजुर गर्न सर कहाँ जानु भन्दा प्रेम कहाँ जान सजिलो मान्छे ।

“के चाहियो ? छिट्टो भन न !” प्रीति नबोलेर ढोकाको संघारमै उभिइ रहे पछि प्रेम कड्किँदै सोध्छ ।

ऊ धक माने जस्तै काँपेको स्वरमा बोल्छेः “मामुले निद्रा लागेको भए भान्दाइकै कोठामा सुत् भन्नुभयो, अनि !”

“सुत्ने ठाउँ यो घरमा अन्त छैन र ? देखेकै छौ सिङ्गल कोठामा सिङ्गल खाट ।” ढोका ढप्क्याउन खोज्छ ।

“छैन भन्नुभो र त मामुले…”

“नचाहिने कुरा । अलिकति पनि सेन्स छैन । भुइँमा गुन्द्री छ, त्यतै सुत अब !” झन्कियो प्रेम ।

“हुन्छ ।” प्रीति भित्र पसी । यताउता नहेरी भुइँको गुन्द्रीमा बर्को ओछ्याई र भित्तातिर कोल्टे फर्केर सुती । सुत्नेबित्तिकै ऊ घुर्न थालीहाली।

प्रेमले ढोका ढप्काउन पनि सकेन र पूरै उदाङ्गो पार्न पनि सकेन । बिछ्यौनामा एकछिन बस्यो । बालेको बत्ती निभाउन पनि सकेन । एकछिन पछि ऊ पनि अर्को भित्तापट्टि कोल्टे फर्केर खाटमा सुत्यो । एकछिन अघि बन्द ढोका आधा खुलेकोले अलिअलि छिरि रहेको बाहिरको आवाज अब बेरोकटोक कोठाभित्र खनिन थाल्यो । प्रेमले दुवै हातका चोर औँलाहरुले कान थुन्यो । खलबल केहीबेरमा मत्थर हुँदै गइ रहेको अनुमान गरेपछि कानबाट औँला झिक्यो र मुक्तिको स्वास फेर्‍यो ।

अब उसको नाक भित्र मीठो बास्ना हरहरी पस्न थाल्यो । अनुमान गर्‍यो प्रितीको कपालको तेल र जिउको पर्फ्यूम होला । तर उसले नमीठो मानिदिँदै नाक थुन्यो । बास्ना त केही कम भयो तर प्रीतिको घुराई कानभित्र एकनाशले पस्न थाल्यो । घुराई त्यति ठूलो होइन, श्वास फेर्दा आउने सामान्य सानो स्वर मात्र थियो । तैपनि त्यो रातमा उसलाई भयंकर प्रतित भइ रहेको थियो र उसको निद्रा धपाउन त्यही मसिनो स्वर पर्याप्त थियो ।

‘उफ बाहिरको हल्ला घट्ने बित्तिकै भित्रको बढि हाल्यो फेरि ! यो केटी अप्ठ्यारो गरेर सुती कि ?’ भन्ठान्दै उसले प्रीति तिर फर्केर हेर्यो । प्रीति अब उत्तानो परेर हातखुट्टा फैलाएर सुतेकी थिई । हल्का लाली पोतिएका ओठ टम्म बन्द गरेकी रहिछे । उसलाई ती ओठ पनि ठूलाठूला प्रतित भए । ओठ बन्द भएकोले नाकबाट श्वास फेरि रहेकी रहिछे । श्वास फेर्दा नाकका पोराहरु खुम्चिने र फैलिने गरिरहेका थिए । उसको श्वास फेराइ देखेर हाँसो उठ्यो । तर हाँसोको स्वर ओठ बाहिर निस्कन नदिएर भित्रै पचायो । एक मन भयो उठेर प्रीतिका ओठ खोलिदिएर श्वास फेर्न सजिलो तुल्याइ दिऊँ । उसले त्यसो गर्न सकेन । बरु त्यस्तो बिचार उठेकोमा आफ्नै गालामा हिर्कायो, ‘बहिनी हो, रातको बेला उसलाई छोएको कल्पना गर्नु पनि महापाप हो ।’

उसका नजर भने प्रीतिकै अनुहारमा टाँसिइरहे । उसले आजपर्यन्त यति नजिकैबाट कहिले प्रितीलाई देखेको थिएन । लाल गालामा गुन्द्रीका रेसाका डाम परेकोले रगत चुहिएला जस्तो देखिएका थिए । कपालका केही रौँहरु अनुहारसम्म छरिएका थिए त केही छातिसम्मै लत्रिएका थिए । रौँ बेरिएको चुल्ठो त घाँटीमा लपक्कै टाँसिएको थिए किलोमा दाम्लो बेरिएसरि । उसको घाँटी कीलोजस्तै अनावश्यक लामो देख्यो । यही कारणले उसलाई अप्ठ्यारो भएको हो कि भन्दै घाँटीमा बेरिएका चुल्ठो हटाइ दिनु पर्ने उपाय सोच्यो । तर त्यो पनि युक्तिसँगत नभएकोले त्यो बिचार त्यहीँ स्थगन गरि दियो ।

उसका नजर घाँटी भन्दा थोरै तल सरे । गुलाबी रङको सर्ट र गाढा निलो फ्रक लगाएकी रहिछे । घाँटी भन्दा तल कमिजको दुइटा टाँक फुस्किएका रहेछन् । घाँटीको तुलनामा गोरोपन तल तिर निखारिँदै गएको रहेछ । ती नजरले छातिको माथिल्लो भागले जोडतोडका साथ वक्षस्थलको डिपिसि निर्माण गरिरहेको चियाउन पुगे । डिपिसि जमिनबाट थोरै मात्र उँचो भए पनि यति छिट्टै उचाइ बढेकोमा अनावश्यक लाग्यो । स्कूलमा उपद्र्याहा केटाहरुका आँखा किन ऊ तिर गाडिन्छन् भन्ने बल्ल चाल पायो । उसले दाइको नाताले जुन अङ्ग नदेख्नुपर्ने हो त्यही देखेको अनुभूतिले खङ्ग्रङ्गै तर्सियो र झट्पट आँखा चिम्म गरेर अर्कोतिर कोल्टे फर्कियो । बाहिरपट्टि महिलाहरुबाट आएको खैलाबैला बिलाइ सकेको थियो । नजिक घर हुनेहरु घरतिर लागे होलान् र टाढा घर हुनेहरु यही घरको आनाकुनातिर ढल्किएर निदाउने प्रयास गर्दै होलान् ।

केही छिनमा प्रीतिको सर्‍याकसुरुक जस्तो आवाज उसको कानमा पर्‍यो । ब्यूँझिई कि भन्ठानी आफू पनि ब्युँझिएको बहानाले आँखा मिच्दै उतैतिर फर्कियो । प्रीति अर्को कोल्टो फेरेर आफूतिरै फर्किएर सुतेकी थिई । ती दुई विपरीत लिङ्गी शरीरहरुबीच एक हात भन्दा कमैको अन्तर थियो । उसले दाहिने हातलाई सिरानी तुल्याएर टाउको अड्याएकी थिई । सिरानीजस्तै पुष्ट र नाङ्गा हातको सुडौलता अवर्णनीय थियो । औँलादेखि पाखुरासम्म खँदिलो मासु भरिएको थियो । गोरो छाला थियो । त्यो गोरोपन काखीसम्म पुग्दा कलेजीपनमा बदलिएको थियो । त्यहाँ जैरेहरु टुसाउँदै रहेछन् । त्यताबाट पनि प्रेमले नजर जबर्जस्ति हटायो ।

खुम्च्याएर माथि तिर सारिएको देब्रे खुट्टालाई ढाके सरि दाहिने हात तन्काएकी थिई । हातका लामालामा औँलाहरुले झण्डै खुट्टाका औँलाहरु छोइरहेका थिए । प्रितीका हात यति लामा होलान् भन्ने आजसम्म अन्दाज गरेको रहेनछ उसले । खुट्टा खुम्च्याइएकोले फ्रक अलिकति माथि सरेको थियो र फ्रकभित्र सधैँ कैद भैरहने पुष्ट पिँडौलाले बाहिर हेर्ने मौका पाएछन् । गोरा र सुकोमल पिँडौलाहरुको बनावट र सुन्दरता अभौतिक थियो । यस्तो अवस्था देख्न पुगेकोले शरमले ऊ आफै खुच्चुक्क खुम्चियो र पुनः बलजफ्ति आँखा चिम्लियो ।

लोडसेडिङको समय परेर होला यसै बेला बत्ती झ्याप्प निभ्यो । उज्यालो गायब हुनेबित्तिकै अँध्यारोले कोठालाई हतारहतार आफ्नो नियन्त्रणमा लिइ हाल्यो । कोठाको बाँकी भाग चकमन्न अँध्यारोले सुमसुम्याउँदा प्रीतिको शरीर समेत उसको नजरबाट गायब भैदियो । बल्ल थाहा पायो कि उसलाई कति पानीप्यास लागि सकेको रहेछ । पानीको लोहोटा प्रीति सुते भन्दा उतापट्टि थियो । पानीको लोहोटा र प्रेमको पानी-प्यासबीच प्रीतिको शरीरले छेकबारको काम गरेको थियो । ऊ उठेर पानीसम्म पुग्न पनि सकेन । किनकि उसलाई डर थियो प्रीतिको शरीर जानीनजानी छोइएला भन्ने । तर पानी सन्निकट हुँदाहुँदै पनि पिउन नपाएको प्यासले झन्झन् च्याप्दै लग्यो । उसको घाँटी सुक्यो । मुटु एकतमासले उफ्रन थाल्यो । श्वासप्रश्वास बढ्दै गयो । यतिसम्म भयो कि केही क्षणमै पानी नपाए पानीबाहिरको माछोसरि ऊ छट्पटाउँदै मरि हाल्नेछ ।

प्यास असह्य भए पछि मर्नु भन्दा बहुलाउनु जाति भनेझैँ ऊ पानीको लोहोटा खोज्न खाटबाट तल ओर्लियो र सकभर सचेत हुने चेष्टा गर्दै आफ्नो शरीरलाई सक्दो कम झुकाएर अलग्गैबाट पानीको लोहोटा खोज्न थाल्यो । जब कुनै नरमनरम चिजमा हात पुग्यो ऊ खङ्ग्रङ्गै तर्सियो । उसले नमान्दानमान्दै पनि उसका ‍औँलाहरु केही क्षण त्यही चिजमा अडिए । उसले अनुमान गर्‍यो कि त्यो प्रीतिको नाङ्गो पिँडौला हुन सक्थ्यो । उसले यो अनुमान गर्ने बित्तिकै जबर्जस्ति त्यहाँबाट हात हटायो र खाटमा आएर टुक्रुक्क बस्यो । उसको मुटु झन बाहिरै खस्ला झैँ  उफ्रन थाल्यो । जिउमा बेसरी कम्पन आउन थाल्यो । जसले गर्दा माघको महिनामा पनि ऊ पसिनाले निथ्रुक्क भिँज्दै गयो ।

मुख प्याक्प्याक्ति सुकि रहेको थियो । उसले फेरि अधैर्य हुँदै पानीको लोहोटा खोज्ने साहस जुटायो र खाटबाट तल झर्‍यो । एउटा हातलाई खाटको खुट्टामा बेरेर अर्को हात अनुमानित लोटा भएतिर बिस्तारै बढायो । उसका औँलाहरु अब झनै मुलायम चिजमा गएर ठोक्किए । सम्भवतः यो प्रितीको वक्षस्थल थियो भन्ने अनुमानित निश्कर्ष निकाल्न नभ्याउँदै उसका हात हठात् प्रीतिले आफ्नो छातिबाट झड्कारेर हटाइ दिई । अब शरम मात्र होइन पीडाबोधले ऊ छट्पटाउन थाल्यो । आत्मग्लानीले भतभती उसको मुटु पोल्न थाल्यो ।

“पानी.. पानी.. पानी खोज्दै थिएँ !” बरबराउँदै प्रेम खाटमा थचारिँदै घोसेमुन्टो लगायो । प्रीति उठेर बसी र सुँकसुँकाउन थाली । रुनुपर्ने त आफूले पो थियो, ऊ किन रोई ? ऊसँग दिन मिल्ने जवाफ केही बाँकी थिएन । केही बेरपछि “मामु ! मामु !” भन्दै च्यादर मुठो पारेर कोठाबाहिर निस्किई । प्रेम सम्भावित दुर्घटनाजन्य आरोपको मारवश थरथरी काँप्न थाल्यो ।

०००

भोलि पल्टदेखि स्कूलमा न त प्रेमले न प्रितीले नै एकअर्कालाई सिधा नजरले हेर्न सके । अब कसैले आफूलाई हेपेमा प्रिती  उजुर गर्न दाइकहाँ आउन छोडिदिई । ऊ स्कूलमा सधैँ बिचलित देखिन थाली । निन्याउरी देखिन थाली । उसको यस विचलनले प्रेमको मनमा आँधी मच्चिरहन्थ्यो । तर गर्नसक्ने उसले केही थिएन ।

प्रेमले त्यो रातमा संयोगले त्यस्तो भएको थियो भन्ने स्पष्टीकरण दिन खोज्थ्यो तर सक्दैनथ्यो । त्यो गोप्य कुरा भन्नको लागि प्रीति कहिले पनि प्रेमको सामु एक्लैं उपस्थित भइनँ । प्रिती संयोगले एक्लै भेटिए पनि त्यो कुरा भन्न प्रेमले आँट मरिगए जुटाउन सकेन । अब त प्रेम देख्यो कि प्रीति परपर भाग्न थालेकी थिई । प्रेमको आफ्नै तनाव बेग्लै । बरु प्रिती आफ्नो आँखा अगाडि नदेखियोस् भन्ने कामना गर्थ्यो । प्रिती नजिक परेमा अर्को बाटो समातिहाल्थ्यो । यसले प्रितीलाई पनि बाटो मोड्न सहज हुन्थ्यो ।

स्कूलका यी मेधावी छात्रछात्रा मन गढन्ते लफडामा रुमलिन थाले । फलतः दुवैको पढाइ विद्यालयमा खस्किन थाल्यो । विद्यालयका उदाहरणीय उम्दा विद्यार्थीहरुको प्रगति उधोँ लागेको देखी शिक्षकहरु पनि अच्चम्भित भएका थिए । के कारणले पढाइ अधोगतितिर लाग्यो भनी विभिन्न शिक्षकहरुले आआफ्नोतर्फबाट उनीहरुको केश स्टडी समेत गरे । फकाई फकाई अनेक प्रश्न सोधे । तर उचित जवाफ दुवैबाट आउन सकेन ।

०००

प्रितीले प्रेमलाई भान्दाइ सम्बोधन गर्ने भएकीले कही केटाकेटीले पनि प्रेमलाई भान्दाइ नै भन्थे । तीमध्ये विनोद प्रेमसँग भान्दाइ भन्दै बढी नै जिस्कन्थ्यो । यही सम्बोधनबाट केही कुरा प्रेमलाई सुनाउन वा सुन्न खोज्थ्यो सक्दैनथ्यो । अनि प्रितीको कानमा केही कुरा भर्दथ्यो । यसले प्रेममा एकप्रकारको ईर्ष्याभाव उत्पन्न त हुन्थ्यो तर त्यसलाई अन्यथा अर्थ लाग्ने हेतुले त्यो मिथ्याभाव जबर्जस्ति पिइदिन्थ्यो ।

विनोद पनि प्रितीको भान्दाइ नै पर्थ्यो । तर साख्खै फूपूचेला थिएन । एक स्टेप परको । प्रितीले भान्दाइ नभनेर विनोद नै भन्थी । प्रेमजत्तिको आदरभाव विनोदमा राख्दिनथी । विनोद त प्रितीलाई भान्दाइ भन्न पाइँदैन भिनाजु नै भन्नुपर्छ भन्दै पेलपाल पनि पार्दथ्यो । ऊ घरिघरि प्रितीलाई आजित तुल्याउँदै भन्थ्योः “म तिम्रो भान्दाइ भएको नाताले तिमीमाथि पहिलो हक मेरो लाग्छ ।”

एकदिन कक्षा सकिएपछि विनोद प्रितीलाई जिस्क्याउने हेतुले पछि लागेको प्रेमले भेट्टायो ।  उसले प्रितीको संवेदनशिल अङ्ग नै छुन के खोजेको थियो प्रेमले त्यस केटाको कठालो समात्दै तानेर दुईचार चड्कन लगाइदियो । विनोद पनि के कम हुन्थ्यो, आफूमाथि आइलाग्ने उपर जाइलाग्यो । अब दुवै लडीबुडी गरेर भिड्न थाले । दुवैले एकअर्कालाई सिध्याउने यत्न गर्न थाले । लड्दालड्दा उनीहरुका लुगा च्यातिए, जिउ कोतरियो, टाउको फुट्यो, दुवैको जिउभरबाट रगत भलभल बग्न थाल्यो । प्रितीले स्कूल पुगेर सरहरुलाई बोलाएर ल्याएपछि दुवैको झगडा छुटाइयो ।

सरले प्रितीलाई नै केरकार गरे, “तिमी त झगडाको शुरुदेखि नै यहीँ थियौ होला ? भन शुरुमा गल्ती कसको थियो ?” प्रितीले केही जवाफ दिन सकिन । सरहरुले कर नै गर्न थालेपछि भनेकी थिई भान्दाइको ।

सरहरुले भान्दाइ भनेको विनोद नै हो भन्ने ठानी विनोदलाई केरकार गर्दै हप्काउन थाले । स्कूललाई रणभूमि तुल्याउने हो भने स्कुलबाटै निश्कासन गरिदिने चेतावनी समेत दिए ।

प्रितीले “भान्दाइ” तोकेर उजुरी दिएपछि लड्दा भिड्दा समेत नरोएको प्रेम घुँक्कघुँक्क रुन थाल्यो । त्यस्तै अवस्थामा सरको अघि पुग्यो र भन्योः “सर, गल्ती मेरै हो, विनोदको होइन । मैले नै विनोदलाई शुरुमा छोएको हुँ । मलाई पिट्नोस् । मलाई उपयुक्त सजाय दिनोस् । मलाई नै स्कूलबाट निश्कासन गरिदिनुस् । म यो स्कूलमा पढ्न चाहन्न ।”

प्रिती भने अवाक भएर प्रेमलाई हेरी रही । विनोदले प्रेमको अनुनय विनयमा आफ्नो जीत देखेर खुशी भयो । त्यस घटनाको भोलि पल्टदेखि विनोदकै करकापले प्रेम र विनोद पुनः निकटस्थ मित्र हुन पुगे । विनोदले पहिलेजसरी प्रेमलाई भान्दाइ भन्दै झिज्याउन थाल्यो ।

त्यसपछिका दिनहरुमा प्रिती पनि प्रेमसँग खुल्न थाली । नजिक पर्न थाली र साविकझैँ समस्याहरु सोध्न थाली । सायद पुरानो घाउ बिर्सिई होली । प्रेम पनि सजगताका साथ प्रितीको अगाडि झुल्किन थाल्यो । बिस्तारै उनीहरुको पढाइ पुनः सुधारोन्मुख हुँदै गयो । दुवै किशोर किशोरी भैसकेकोले सन्निकटताको चाह हुँदाहुँदै पनि धेरै नजिक भने पर्दैनथे । पहिलेको जस्तो बालचञ्चलता उनीहरुबाट गायब भैसकेको थियो ।

०००

प्रेमको घरमा दाजुको बिहेपछि भाइको पनि बिहे गरिदिनुपर्ने कुराले अग्र स्थान ओगट्न थाल्यो । बिहेको कुरा आयो कि प्रेमकी आमाले भनिहाल्थिन्, “अरुतिर किन पस्नु ? आफ्नै भाइकी छोरी प्रिती छँदै छे नि ।”

“के नचाहिने कुरा गरेकी ? मामाचेली र फुपूचेलाबीच बिहे हुनु त पाप हो । एउटै रगतका भाइबहिनीका छोराछोरीबीच बिहे सम्भव कुरा हुँदै होइन ।” बाबुले ठाडै अस्विकार गरिहाल्थे ।

“कुरा नगर्नुस् तपाईँ । भर्खरै त हो नि त्यसरी सोच्न थालिएको । हाम्रो पालामा त प्रायशः मामाचेली र फूपूचेलाबिच नै बिहे हुन्थ्यो । शिलस्वभाव, घरायसी काम, पढाइतिर सबैमा प्रितीजस्ती उत्तम केटी त संसारभर खोजे पनि पाइन्नन् है भन्द्याछ। समयमा बुद्धि नपुर्‍याउँदा कतिका घरबार भत्किएका छन् ।”

आफ्नी पत्नीको यो जिद्दिप्रति प्रेमका बाबु अवाक हुन्थे ।

यो कुरा प्रेमले पनि सुनेको थियो र प्रितीलाई सुनाउन चाहन्थ्यो । एक दिन कक्षामा प्रिती एक्लै भएको मौका पारी भनिहाल्योः

“प्रिती, तिमी नरिसाउने भए म तिम्रो फुपूले भनेकै कुरा भन्छु है ?”

“के भन्दै हुनुहुन्छ भन्ने थाहा छ मलाई । अमरले आफ्नै मामाकी छोरी बिहे गरे रे भन्ने कुरा होइन ?” ऊ खिलखिलाउँदै उन्मुक्त हाँसो हाँसी ।

“कसरी थाहा पाएकी ? मेरो घरमा आमाले सधैँ त्यस्तै कुरा गर्नुहुन्छ ।”

“दाजुबहिनीको नाता…..” प्रितीले अस्वीकार गरेझैँ गरी ।

“मसँगको नाता भान्दाइ त हो नि । पहिले पहिले मामाका छोरालाई भिनाजु भन्थे । अनि त्यसैको बिगारिएको रुप भान्दाजु भन्दा भन्दै भान्दाइ भनिएको हुन सक्छ ।”

“त्यो त होला । मेरो बाबाले पनि यस्तै कुरा गर्नुहुन्छ तर आमाले मान्नु भएको छैन ।”

०००

अर्को दिन प्रितीलाई माग्न सम्पन्न घरबाट प्रस्ताव आयो । घरमा गम्भीर छलफल भएपछि प्रितीलाई त्यही केटालाई दिने पारिवारिक निश्कर्ष भएछ । प्रितीलाई पनि सोधियो, न उसले हुन्छ भन्न सकी, न त हुन्न भन्न । मौन समर्थनम् लक्षणमको अर्थ लगाएर बिहे पनि छिनियो ।

प्रेमको घरमा यो खबर तुरुन्तै पुगिहाल्यो । आमाचाँहिले माग्न ढिला गरेकोमा चुकचुकाइ रहेकी थिइन् ।

“भदैनीले राम्रो घर पाएकोमा खुशी होऊ न !” उसका बाबुले सम्झाइ रहेका थिए ।

त्यस दिनको केही दिनमै प्रेम र प्रितीको भेट भयो । प्रेमले केही कुरा राख्न चाहन्थ्यो प्रितीले नै उछिनीः

“भान्दाइ शब्दमा पछिल्लो दाइ नातामै जोड रहेको हुन्छ । भिना नातालाई पनि बङ्ग्याएर गलत अर्थबोध गरिन्छ । अतः भिना शब्दको गलत अर्थबोध नहोस् भनी भान्दाइमा “दाइ” प्रत्यय जोडिएको हुनुपर्छ ।”

“मैले तिमीलाई सधैँ बहिनीकै दृष्टिले त हेरि रहेको छु नि । तिमी पो अर्कै अर्थ लगाउँछ्यौ । तर दाइ शब्द जोड्दा र नजोड्दा हुने अर्थबोध र अनुभूतिमा भने केही मूलभूत भिन्नता हुन्छ जस्तो लाग्छ मलाई । दाजुबहिनी र प्रिय/प्रियषीबिच हुने मायाबिच पनि मूलभूत भिन्नताबोध हुन्छ । किनकिन मलाई पछिल्लो अर्थबोध मीठो लाग्न थालेको छ । यसैले प्रेरित गरि रहेको छ ।”

“हुन्दिनुस् अब ।”

“किन र ? तिमीलाई मेरो माया लाग्दैन ?” उसले अरु बल गरेर भन्यो ।

“अब शुद्ध बहिनीकै भावले हेर्नुहोस् ।”

“अनि, मेरी आमा र तिम्रो बाबाको ईच्छा नि ?”

“हुन्दिनुस् । मेरो बाबा सहमत भैसक्नुभयो । मेरो बिहे अर्कै केटासँग हुने भनी छिनीसकियो ।

“हँ ? के भन्दैछ्यौ यो तिमी ? म यो कुरा पत्याउन सक्दिन ।” प्रेमलाई घनचक्करमै छोडेर प्रिती उठेर आफ्नो घरतिर लागी ।

प्रितीको बिहे भान्दाइसँग नै भएको थियो । । एक स्टेप परको भान्दाइ विनोदसँग । यस हिसाबले विनोदको भान्दाइ नाताको जित भएको थियो भने प्रेमसँगको भान्दाइ नाताको हार हुन पुगेको थियो ।

०००

त्यसपछि प्रिती र प्रितीका दुवै भान्दाइहरुका धेरै रात र दिन बितिसकेका थिए ।

विनोद कपिलवस्तुतिर बसाइसराइ गरेकोले उतै लागी । प्रेमको बिहे अर्घाँखाँचीकै केटीसँग भयो र त्यतै उसको घरजम चल्न थाल्यो । दुवैका बच्चाबच्ची जन्मिए र हुर्किन थाले । प्रेम कपिलवस्तु हुँदै काठमाण्डौ जाने काम परिरहन्थ्यो । अर्घाँखाँचीबाट गोरुसिँगेतिर झर्न थालेपछि ऊ विगतमा हराउन थाल्थ्यो । एकएक घटनाहरु रिलझैँ दोहोरिरहन्थे । अर्को काममा नभुलेसम्म ऊ यी अतितलाई तरङ्गित पारेका कुराहरुबाट मुक्ति पाउँदैनथ्यो ।

“हेलो ? भान्दाइ हो ?” एकदिन फोनमा कुनै नारी आवाजले प्रेमको ध्यान खिँच्यो ।

“अँ भन्नुस्, बहिनी, बोल्दैछु !” प्रिती नै बोलिरहेकी छे भन्ने ठम्म्यायो प्रेमले ।

“यही बाटो यताउता गर्दा पनि कहिले पनि बहिनीलाई सम्झनुभएन है तपाईँले ?”

“मैले सम्झिए नसम्झिएको कुरा मापन गर्ने मेशिन तिमीसँग छ र त्यो अनुमान लगाउनलाई ?”

“मेरो घरको दैलोमा कहिले पनि पाइलो नटेकेपछि के भन्नू त मैले ?”

“ल निम्तो पाऊँ न त । म आउँदो पच्चीस गते काठमाण्डौ जाँदैछु । त्यसैबेला पसुँला नि त ।”

“जसरी पनि पस्नुहोला है त ? यसपटक पनि पस्नुभएन भने कहिले पनि बोल्नेछैन हजुरसँग !” भन्दै उसले फोन काटिदिई ।

०००

पच्चीस गतेको दिन बिहानै कपिलवस्तु तिर झर्‍यो प्रेम । बस चढ्नुपूर्व नै प्रितीलाई फोन लगायो, “म हिँडे अब !”

प्रेम चढेको बस ठाडा दहको तल झरेपछि पट्टा भाँचिएर बिग्रिएकोले त्यहीँ रोकियो । नौबजे नै प्रितीको घरमा पुग्ने योजना थियो उसको तर बस नबनुन्जेल कुरेर बस्नैपर्‍यो । अर्को गाडीमा चढ्न पनि सकेन ।

ऊ घरिघरि प्रितीसँग गुज्रिएको आफ्नो विगत तिर डुबुल्की मार्न थाल्यो ।

ऊता प्रितीले खाना पकाएर पर्खिरहेको जानकारी गराई । उसले विगतको रातका गुन्द्रीको डामले रगत चुहुन थालेका गाला सम्झियो । केही छिनपछि प्रितीले केटाकेटीहरु स्कूल गएको कुरा जानकारी गराई । उसले ढोका बाहिर कम्बल बोकेर धुम्धुम्ति उभिएकी एक्ली केटीको कल्पना गर्‍यो । प्रितीले फेरि केही छिनपछि आफ्नो लोग्ने अफिस गएको कुरा पनि जनाई । उसले झ्याप्प बत्ती निभेको कल्पना गर्‍यो । प्रितीले आफ्नो पनि स्कूल जानुपर्ने जरुरी काम हुँदाहुँदै जान नसकेको बाध्यता पनि जनाई । उसले त्यो केटी आफूतिर कोल्टे फर्किएको कल्पना गर्‍यो । उसले अर्को गाडी चढेर छिट्टै आउन बारम्बार आग्रह गरीरही  । ऊ भने विगतको रातमा कसैले हात समातेर तानेझैँ अनुभूतिमा अल्झिरह्यो अल्झिरह्यो ।

त्यो रात अँध्यारो थियो तर यो दिन उज्यालो थियो तथापि उसलाई चारैतिर अँध्यारो लागिरहेको थियो । मुटुको ढुकढुकी उस्तै थियो । पसिनाले लतपत भइरहेको थियो । नजिकै रहेको पानीको लोहोटा खोजिरहेको थियो । ऊ घरिघरि प्यासले छटपटिइरह्यो र घटघटी पानी पिइरह्यो ।

अरु यात्रीहरु बसको कन्डक्टरबाट एकएक गरेर भाडा फिर्ता माग्दै अर्को गाडी चढ्दै गन्तव्यतिर लागिरहेका थिए । बिडम्बना यो थियो कि उसले कन्डक्टरबाट पैँसा फिर्ता मागिरहेको थिएन । त्यो गाडीको अन्तिम यात्रीले ए दाइ सबै गइसके तपाईँ जाने होइन भनेपछि कल्पनाबाट झल्याँस्स ब्यूँझियो

ब्यूँझने बित्तिकै ऊ शरमले खुम्चुक्क खुम्चियो । एकजना विवाहित बहिनीप्रति के सोचिरहेको छ उसले ? राम! राम!! राम!! यति जघण्य पापको कल्पना पो गरिरहेको रहेछ ! उसले एक चड्कन आफैलाई लगायो र बिग्रिएको गाडी छोडेर अर्को गाडीमा चढ्नबाट आफूलाई वञ्चित गरेर सजाय दिलायो । प्रतिज्ञा गर्‍योः प्रितीका केटाकेटीहरु घर नफर्किएसम्म उसको घरमा पुग्दै नपुग्ने ।

अतः जुवाइँ अफिसबाट कुन बेला फर्किन्छन् ? वा केटाकेटीहरु स्कूलबाट कुनबेला फर्किन्छन् ? भनेर सोध्न चाहन्थ्यो तर उसले अनर्थ लाग्ने डरले सोध्न सकेन । बल्लतल्ल भन्नसक्योः “मैले छोराछोरीको लागि कोसेली ल्याइ दिएको छु । आफ्नै हातले उनीहरुलाई दिन चाहन्छु । केटाकेटीलाई हाफट्याममा बोलाइ दिनु है ।”

अब ऊ केटाकेटीहरु घर फर्किएको खबर सुन्नलाई पर्खि बसेको थियो । जुवाइँ अफिसबाट फर्किएको खबर सुन्न पर्खिएको थियो ।

करिब दुई घण्टाको प्रतिक्षापछि गाडी बनेकोले गाडी एक्लो यात्री प्रेमलाई लिएर तुफान गतिले ओरालो लाग्यो । एकघण्टा लाग्ने भनेको बाटो आधा घण्टामै पार भयो र सोचेको समयपहिल्यै प्रितीको गाउँ पुग्यो । प्रिती प्रेमलाई नै बाटोमा कुरेर बसेकी रहिछ ।

घरमा कोही पनि थिएन र प्रिती नितान्त एक्ली थिई । एक्ली मात्र होइन कल्पनाकी प्रिती भन्दा आकाशपात्ताल फरक परेकी थिई ऊ । पहिले जस्ती हसिली फुर्तिली थिइन । जिउ सुकेर दाउरो झैँ बनेकी थिई । उसलाई देखेर एकजना कामुक व्यक्ति पनि पटक्कै आकर्षित हुनसक्दैनथ्यो । अड्कल गर्‍यो यो घरबारले पटक्कै सन्तुष्टि दिएको छैन यल्लाई ।

प्रितीले छिटो छिटो भाँडामा खाना पस्की र प्रेमले प्रेमपूर्वक खाना हसुर्न थाल्यो । खाँदा खाँदै बोल्यो:

“तिमी पनि जागिरी लागिछौ ! लौ बधाई छ ! अनि जुवाइँ के गर्नुहुन्छ ? घरबार कस्तो चलि रहेको छ ?”

ऊ निस्लोट अँध्यारिई । उसको अनुहार बेसरी खुम्चियो र ओठ काँप्न थालेः “घर त भत्किनै आँटेको छ । भूकम्पका धेरै धक्काहरु सहेर बाँचि रहेकी छु । ओठ पिलपिलाउन थाली उसले ।”

उसलाई यो प्रश्न सोधेकैमा अपराधबोध जस्तो भयो । आफू पाहुना पर्न आएकैमा पछुतो जस्तो भयो ।

“स्कूले जीवनका खुशीहरु सम्झ न । कति खुशी थियौँ हगि हामी ?” प्रसङ्ग बदल्न खोज्यो प्रेमले ।

प्रिती अकस्मात उज्यालिई । उज्यालिँदा उसका लुप्त शारीरिक सुन्दरता प्रस्फुटन हुन थाले ।

“अनि हजुरसँगै एउटै कोठामा सुतेको रात पनि सम्झनुपर्ने हो कि ?” ऊ रातोपीरो हुँदै बहुलाहीझैँ  खितखिताउन थाली

“त्यो रात त मलाई प्रलयसरि नै भयो नि ! युगौँ बिताएझैँ !!” प्रेम पनि निर्धक्क हाँस्न थाल्यो ।

“तपाईँ दाइको नाता हुँदाहुँदै पनि एक्लो रातको फाइदा उठाउँदै चोर बिरालोसरि मेरो वक्षस्थलसम्मै आइपुग्नुभयो है ?” ऊ फेरि बौलाही पाराले हाँस्न थाली ।

“मरिजाउँ मैले अन्यथा सोचेर होइन । मभित्र बहिनी नाताको कडा पर्खाल छँदै थियो । धर्म र प्रतिज्ञाको कडा पर्खाल थियो । म त्यो पर्खालको वारिपट्टि सुरक्षित नै थिएँ । त्यही पर्खालको कारणले तिमी पनि पारिपट्टि सुरक्षित रह्यौ । म अँध्यारोमा पानी प्युन उठ्दा अनजानवश् त्यो दुर्घटना भयो । तिमीलाई यही बताउन चाहन्थेँ कि मैले जानीजानी त्यसो गरेको होइन ।”

“तर त्यो असत्य कुरा उसको लागि सत्य ठहरियो । त्यही घटनाले मेरो घर उजाडिन थाल्यो ।” ऊ फेरि आँधीबेहरी मच्चाउनु पूर्वको मेघझैँ अँध्यारिई ।

“किन के भयो र ?”

“त्यस रात अर्को एउटा केटा पनि आफ्नी आमासँग हजुरको घरमा आएको थियो । उसले म तपाईँको कोठामा सुतेको थाहा पायो । उसले शुरुशुरुमा त्यो कुरा स्कूलमा हल्ला पिटिदिने भन्दै तर्साउँथ्यो । पछिपछि त्यही कुराले मसँग बार्गेनिङ गर्दथ्यो । पटकपटक तपाईँसँग झगडा गर्ने त्यही केटो थियो । उसले नै निहुँ खोजे पनि मैले केही बताउन सक्तिनथेँ । त्यो ब्ल्याकमेलिङ बिहेसम्म पुग्यो । आफूसँग बिहे नगरे त्यसको पर्दाफास गरिदिने धम्की दिइरह्यो ।”

“अनि ?” अनि प्रेमको मथिङ्गल मच्चिन थाल्यो ।

“बिहेपछि पनि उसले त्यही कुरालाई लिएर झगडा मच्चाइरह्यो । आफूले अर्की स्वास्नी पनि बिहे गर्‍यो । आफूमाथिको अत्याचार कम होला भन्ठानी मैले नै उसलाई अर्की बिहे गर्न सुझाएकी थिएँ । मैले चाहन्थेँ कि उसले अर्की बिहे गरेमा समानुभूति गर्नेछ र ममाथि अत्याचार बन्द गर्नेछ । सौतेनी पीडाभन्दा उसको यो आरोप मेरो लागि असह्य हुन्थ्यो । तर उसले अर्की बिहे गरे पनि मलाई तपाईँसँग सुतेको आरोप भिडाउन छाडेन । म कसरी बुझाऊँ उसलाई आफ्नो विशुद्धता ?” यति कुरा उकेलिसकेर प्रिती छाती पिटीपिटी रुन थाली ।

प्रेम दाह्रा किट्दै जुरुक्क उठ्यो र चिच्यायोः “शंकाकै आधारमा आफ्नो बहिनीको यो हविगत बनाउनेलाई मैले पनि साटो नफेरी छोड्दैन ।”

त्यसै बेला कसैले प्रेमको टाउकोमा दाउराले जोडदार प्रहार गर्‍यो ।

प्रेम ढुनमुनाउँदै ढलेपछि प्रिती चिच्याई, “निर्दोष मान्छेलाई प्रहार गरेर पाप मात्रै हात लाग्ला ।” उसको अर्को प्रहार प्रितीको शिरमा बज्रियो । ऊ पनि ढुनमुनाउँदै रगत छाद्दै ढली । उनीहरुको शरीर क्षतविक्षत नभएसम्म र उनीहरुले अन्तिम श्वास नफेरून्जेलसम्म दाउराले दुवैजनालाई हिर्काइ रह्यो, हिर्काइ रह्यो । दाउरा प्रहारकर्ता प्रितीको लोग्ने थियो ।

लेखक : पूर्ण ओली हुन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: