आश्विन २९ गते, २०७६

आँखा बोल्यो, जम्मै ठेक्का उसैको भयो आज !

पटक हेरिएको

आँखा बोल्यो

जम्मै ठेक्का उसैको भयो आज ।

दुवै आँखाहरु एकाकार भएर एउटै आँखो बन्यो । बाह्र वर्षपछि खोला फर्किन्छ भन्ने उखान चरितार्थ भयो उसलाई । आफ्नो आँशु चुहाइ रहने जन्मसिद्ध गुणलाई बिर्सिएर तृषित ‘आँखा’ मन फुकाएर हाँस्यो । वरपरको छारोधुइरो उडाउँदै गललललल हाँस्यो ।

उसले मौकामा चौका हान्न खोजेको अनुमान गर्नेहरु ईर्ष्यावश् चुपचाप लागे, ठाउँको ठाउँ हुन पुगे । जस्तो कि बोल्ने हकवाला ‘मुख’ टिमिक्क परेर बस्यो । ‘नाक’ श्वास नै रोकेर उँधोमुण्टिइ रह्यो । ‘कान’ ले आफ्नो मुखमा तेलको बुजो हालेर बस्यो । ‘जिब्रो’ दाँतको सिरानी हालेर मुखको ओढार भित्रै लम्पसार सुतिदियो । खुट्टाहरु हाइसन्चो भो भन्दै उपरखुट्टी लाएर बसे । हातहरु मुठ्ठी फुकाएर तुर्लुङ्ग लत्रिए । ‘यसले के के गर्दो रहेछ हेरम्ला हामी पनि’ भने झैँ ‘मन’, ‘मष्तिष्क’ र ‘मुटु’ बडो तन्मयका साथ घाँटी तानीतानी उसको चर्तिकला लुकीलुकी च्याउन थाले ।

कसको के लाग्छ ?  उसको लागि गोरु बियाइ दिएपछि डोको भरि दूध अटाउने नै भयो !

आँखाका भुइँखुट्टै छैनन् आज । बुर्लुकबुर्लुक घरि यता घरि उता उफ्रि रहेको छ । घरि दगुर्छ, घरि टक्क रोकिन्छ । घरि तनक्क आङ तन्काउँछ, घरि फटक्क जाङ फट्टाउँछ । घरि लम्पसार सुत्छ, घरि जर्पत्ताल उठ्छ । स्वतन्त्र जीवन यतिसम्म आनन्ददायक हुँदो रहेछ कि भनि साध्य छैन !

तीनछक खाएका छन् उसका निकटस्थ छिमेकीहरु । परेलाले बेलाबेला झिमिक्-झिमिक् गर्नै बिर्सिएको छ। आँखीभौँ खुम्चिने र फुक्ने प्रकृयामा विलम्बता देखाएको छ। आँखाको यो अद्भूत चर्तिकला देखेर निधार घरिघरि तर्सन्छ । गाला सकीनसकी आँखाकै भाकामा निलो, गुलाफी, पहेँलो, फुस्रो, पहेँलो आदि रङ बदलि रहेको छ।

उसको यस अस्थिर चालले के आभाष दिलाइ रेहको छ भने कसैले उचालि रहेको जस्तो । कसैले धकेलि रहेको जस्तो। कसैले आकर्षित गरि रहेको जस्तो । कसैले लखेटि रहेको जस्तो । कसैले छेकिरहेको जस्तो । कतै कसैले लखेटि रहेको त छैन उसलाई ? खुलदुली साथ फरक्क फर्केर हेर्छ । नभन्दै चोर समातिन्छ । कसैले लखेट्दै त रहेछ !

आफूलाई लखेट्नेवाला पनि आफू जस्तै आँखा नै हुनुपर्छ ।

‘एऽऽ एऽऽ को हौ हँ तिमी ? बिनसित्ति मलाई किन लखेटि रहेको ?”

ऊ अनुहार लुकाउँदै अर्को तिर भाग्छ । भाग्नेको पहिचानको लागि उसको पछिपछि परपरसम्म दगुर्छ । उसलाई कसै गरी भेट्टाउन नसकेपछि लाचार हुँदै आफ्नो बाटो लाग्छ ।  आँखाले आफ्नो बाटो समात्दा नसमात्दै पुनः ऊ धकेलिन थाल्छ, लखेटिन थाल्छ । अब त नपक्री छोड्दिन भन्दै व्यग्रता साथ फर्केर उसको गर्धन समात्न खोज्छ, ऊ बेपत्तासँग भागि दिँदा समात्न सक्दैन । आफ्नो दिशा पक्रन खोज्दा पुनः लखेटिन र घचेटिन थाल्छ । अब आक्रोशसाथ फर्कँदै गाली गर्न तम्सन्छ ऊ । उसैलाई बेतोडसँग लखेट्न थाल्छ, तर समात्ने सबै प्रयत्न बिफल । यो उपक्रम केही बेरसम्म दोहोरिइ रहन्छ ।

एक प्रकारको सनसनीपूर्ण लखेटालखेट । रोमाञ्चक दगुरादगुर । तर मीठो लुकामारी ।

“अनुहार देखाउनु त परैको कुरा चुइँक्क बोलेन मोरो ।” थकानले चूर हुँदै खुइए सास फेर्छ ।

लखेट्नु आसानको कुरा होइन, बरु लखेट्न नदिनु नै लखेटिनुको सबै भन्दा उत्तम उपचार हो । उसको दिमागमा ज्ञान पलाउँछ र एक फालमै बिजुलीको गतिमा क्षितिजको डिल नाघ्न पुग्दछ ।

निरुद्देश्य दगुर्दा दगुर्दै आँखा एउटा भीडभाडमा मिसिनपुग्छ । एकछिन त छक्क पर्छ कुन दुनियाँमा आइपुगेँ भन्ठान्दै । यताउता हेर्छ प्रवेशद्वारको साइनबोर्डमा लेखिएको रहेछः आँखा-बजार । आफ्नै जातको बजार रहेछ भन्दै मख्ख पर्छ ऊ। कतै ठोक्किएर, कतै जुधेर, कतै नजिकिएर, कतै टाढिएर रमिता हेर्छ आफूजस्तै आँखाहरुको । ठूला आँखा, साना आँखा, चिम्से आँखा, लाम्चा आँखा, गिद्दे आँखा, चिल्ने आँखा, गाजलु आँखा, लजालु आँखा, तृषित आँखा, मिश्रित आँखा र थरिथरिका आँखैआँखा । कुनै आँखाको नजिक पर्दा ती आँखा भाग्न खोज्छन् । कुनै आँखाले पछ्याउँदा ऊ आफै भाग्न खोज्छ । जुध्न त कतिसँग जुध्यो कति । हरेकसँगको जुधाइको स्वाद बेग्लाबेग्लै पाउँछः- गुलियो, तीतो, टर्रो, चर्को, पीरो, अमिलो, अनुलो ……… । अनि छुट्ट्याउनै नसकिने स्वादहरु पनि ।

“मीठो  स्वादको जुधाइ कतै भेटिनेरहेनछ यो बजारमा । यो भन्दा त त्यही लुकामारी वेश !” दिक्क मान्छ ऊ।

चिल्ड्रेन पार्कमा राखिए जस्तै अनेक प्रकारका खेल्ने/खेलाउने सामग्रीहरु छन् बजारभरि । यी आँखाहरु सिर्फ खेलौना मात्र त होइनन् ? झस्किन्छ । जाँच्न खोज्छ, खुट्ट्याउन सक्दैन ।

केही मान्छेहरु आशाको कुटिरो बोकेर पसिरेहको नजिकैको मन्दिर भित्र पस्छ । लहरै राखिएका भगवानका आँखा जाँच्दै हिँड्छ । मूर्तिका हरेक अङ्ग-प्रत्यङ्ग छाम्दै हिँड्छ । झुण्ड्याइएका घण्टाहरु बजाउँदै हिँड्छ । कुनै प्रतिक्रिया प्राप्त नहुँदा प्यासी ईच्छा पटक्कै तृप्त हुँदैन ।

“ईश्वरको लागि कैद घर !” उद्गार पोख्छ ऊ।

त्यताबाट बाहिर निस्कने बित्तिकै परबाट ऊसँग ठोक्किने गरी रेल आफै तिर कुदिरहेको आभाष पाउँछ । रेलमा दर्जनौँ आँखाहरु चढि रहेका छन् । रेल नजिकै आइ पुगेपछि चलाउनेवाला आँखा सोध्छः चढ्ने हो ?

उसले चढ्ने कि नचढ्ने निर्णय नगर्दै उसलाई छोडेर रेल परतिर पुगि सकेको हुन्छ । ढोका भित्र कोच्चिन खोज्छ, सक्दैन । झ्याल समाउन खोज्छ, मिल्दैन । अनि रेलको पुच्छरमा झुण्डिँदै ऊ पनि रेलसँगै पर परसम्म कुद्छ । कुनै आनन्दानुभूति नपाएपछि बिचबाटोबाटै फरक्क फर्कन्छ ।

अलिकति पर रोटे पिङ राखिएको छ । त्यसमा चढ्छ र दुईचार फन्को घुम्छ । एकछिनमै जिउ रिङेपछि ओर्लन्छ । अझै पर राखिएको मौले पिङमा दुईचार झड्का मच्चिन्छ । दायाँपट्टि अजङको पहाड बनाइएको छ । एकदुई फन्का उकालीओराली गर्छ र तुरुन्तै थाकिसक्छ । चिप्लेटी खेल्छ चिप्ले पिङमा । कृतिम घोडाहरु चढ्छ । थरिथरि फूलहरु सुँघ्दै हिँड्छ । पुतली लखेट्दै दौडन्छ ।  परन्तु कतै तृप्ति मिल्दैन ।

आँखा-बजारबाट आँखा बाहिर निस्कन्छ । थकित थकित मुद्रामा ।

“खाइस् !” भन्छ मन ।

“खुच्चिङ् !” भन्छ मुटु ।

आँखाले उनीहरु तिर आँखा तर्छ ।

अलिकति वर आइ पुगेपछि उसको बाटो छेकेर पहिले आफैसँग लुकामारी खेल्नेवाला आँखा बाटोमै तेर्सिएर सुस्ताइ रहेको भेट्टाउँछ ।

कोट्याउँछ उसलाई । आफ्नै सुरमा सुस्ताइरहेको आँखा जर्पड्ताल उठेर ऊतिर फर्किन्छ ।

झसङ्ग तर्सिन्छ आँखा, “पहिले आफ्नो अनुहार नै नदेखाउनेवाला त आँखी पो रैछ !”

ऊ हेरेको हेरेइ हुन्छ ।

आहा कति सुन्दरी । आँखामै बिलाउली जस्ती कति मिहिन आँखी । हल्का कालो वर्ण । बगैँचाजस्तै आँखीभौँ र बारजस्तै बाक्ला झिमझिम परेलीहरुले घेरिएकी छे । वरिपरि गाजलु डिलको लक्ष्मण रेखा कोरिएको छ । भुइँमा चक्राकार बुट्टा भरिएको सुन्दर सफेद शंखाकार गलैँचा ओछ्याएकी । अलमस्तसँग टुक्रुक्क बसेकी ।

पराई आँखा आफैतिर सोझिएको आभाष पाएपछि आँखी अर्कोपट्टि फर्किन्छे । उसको बाटो छोडिदिन्छे।

तर आँखा बाटो काटेर अघि बढ्न किमार्थ सक्दैन।

“किन नबोलेको ? किन थकित देखिन्छ्यौ ? के खोजि रहेकी छ्यौ ?” उसले आफूतिर फर्काउने प्रयत्न गर्छ ।

केही बोल्दिन आँखी । ट्वाल्ल परेर एकसरो अर्को तिर हेरि रहन्छे।

आफ्नो भाका बुझिनँ कि भन्दै ईशारा गर्छ ऊ : “हिँड परपरसम्म सँगसँगै जाउँ !”

आँखीको पाखुरा समात्न खोज्छ ऊ ।

“नछोऊ मलाई, म त अर्कैकी हुँ ।” नाइँनास्ती गर्छे आँखी ।

“म पनि त आफ्नै त कहाँ हुँ र ? ‘म’ नामको हरामदास मालिकको दास हुँ नि म पनि । आज उसले मलाई स्वतन्त्र छोडिदियो । मसँगै काम गर्ने उसका अन्य दासहरुबाट (अङ्गप्रत्यङ्गहरुबाट) मलाई स्वतन्त्र खेल्ने मौका दियो । फलस्वरुप म घुम्दै फिर्दै यहाँसम्म आइपुगेँ । कुनै चिजमा पनि मेरो मन अडिन सकेको थिएन । पहिले लखेटालखेट मात्र चल्यो, तिम्रो अनुहार ठम्याउनै सकिन । अहिले जब तिम्रो अनुहार देखेँ, मेरो प्यास धेरै हदसम्म मेटियो । मेरो मन तिमीमै पुगेर मात्र अडियो । स्वतन्त्रताको अनुभूति कति अमूल्य हुँदो रहेछ भन्ने जानकारी बटुल्न पाएँ ।”

“तिमी त मालिकको दास मात्र रहेछौ । म त दासकै दासीतुल्य बाँचिरहेकी छु ।”

“दासको पनि दासी ?”

“हो नि ।”

“कुन दासको दासी ? नाकको ? कानको ? मुखको ? जिब्रोको ? हातको ? खुट्टाको ? पेटको ?…. ? होइन होला हौ ।” आँखीको मनभित्रै पसेर उसले जाँच्न चाह्यो । मनभित्र पस्ने उपाय के होला ? गम्न थाल्यो ऊ ।

उसको चतुर्‍याइँ बुझेर आँखीका परेलाहरु टम्म ढाकिए र आँखीलाई ओझेल पारिदिए । अब उसको बाटोमा लठ्ठ परेली र गाजलु लक्ष्मण रेखाको मात्र अवशेष देखियो ।

भर्खरैसम्म आफ्नै अगाडि झुकि रहेकी आँखीलाई परेलाले नजरबन्दमा राखेकोमा औधि रिस उठ्यो आँखालाई ।

उसले आफ्ना साथीहरु नाकलाई गुहार्‍यो, कानलाई गुहार्‍यो, मुखलाई गुहार्‍यो, जिब्रोलाई गुहार्‍यो । हातलाई गुहार्‍यो, खुट्टालाई गुहार्‍यो । ती सबै साथीहरुले आँखीको मनभित्र पस्नको लागि मद्दत दिन आफू असमर्थ रहेको घोषणा गरे ।

आँखाले हार खायो । ऊ आँखीको मनभित्र पस्न नसक्ने भयो । आजसम्म कुनै कुराको पनि परवाह नगर्ने आँखा आँखीको मोहजालमा नराम्रोसँग फस्यो । आँखी आफ्नो नजरबाट गायब भैदिए पछि उसले आफ्नो प्राणलाई त्राण दिने कुनै बाटो देखेन । ऊ बेसरी छटपटायो ।

“पर्खि ! हरेश नखा !! म छु नि म तँलाई मद्दत गर्ने ।”

“को होस् तँ ?” आफ्नो अगाडिको अदृश्य आकारबाट आश्वासन पाएपछि शंका गर्न थाल्यो आँखा ।

“म तेरै साथी ‘मन’ हुँ । तेरो र मेरो मालिक एउटै त हो ।”

“…… !! …… ? ”

“आँखीको मनभित्र पस्नसक्ने म बाहेक अरु कुनै चिजको अस्तित्व छैन यो संसारमा ।”

“तँ यति ठूलो छस्, ऊ त्यति सानी छे । म आकारमा छु तँ निराकारमा छस् । कसरी छिर्नसकिन्छ उसको मन भित्र ?”

“म आवश्यकता अनुसार खुम्चिएर अणु बन्न पनि सक्छु र फैलिएर आकाश बन्न पनि सक्छु । मेरो सम्पर्कमा आउनेबित्तिकै तँलाई पनि निराकार तुल्याइदिने गुण छ ममा ।”

“ल हिँड् उसोभए ।”

“आइज !” मनले आँखाको हात समातेर अगाडि बढ्यो । परेला भित्र जादूमय तरिकाले सजिलै दुवै जना छिरे । आँखी सानो मन बनाएर सफेद गलैँचाको एककुनामा झोक्राएर बसिरहेकी थिई । दुवैजना आँखीको घरभित्र पसे । त्यहाँ दर्जनौँ कोठाहरु थिए । स्क्लेरा, कोरोइड रेटिना, कंजंक्टिभा, कर्निया, आइरिस, प्युपिल, एन्टेरियर च्याम्बर, पोस्टेरियर च्याम्बर, एक्वस ह्युमर, भिट्रस ह्युमर आदि अनेक नामका । प्रत्येक कोठाको प्रवेश द्वारमा मस्तिष्कका गुप्तचरहरु खडा गरिएकोले उनीहरु कोठा भित्र पस्न पाएनन् । अलिकति तल पुगेपछि अप्टिक नर्भ नामको लहरे गुफा भेट्टाए । त्यसैभित्र सुलुलुलुलुलुलु  बग्दै दुवै यात्री तलतिर झर्दै गए ।

अकस्मात उनीहरुको बाटो एउटा विशालकाय पहाडले छेक्यो ।

“के हो यो ?” सोध्यो मनलाई आँखाले

“यो आँखीको दिल हो ।” मनले भन्यो ।

“कसरी जाने त अब उतापट्टि ?”

“यसको कमलो भागमा प्रवेशद्वार अवस्थित छ । त्यतैबाट भित्र पस्न सकिन्छ ।” सुझायो मनले ।

आँखाले आँखीको दिल छाम्न थाल्यो ।

धेरैबेरसम्म छामेपछि भन्योः “जताततै पत्थरै पत्थर मात्र पो छ त ! मात्र पत्थरले बनेको दिल रहेछ यसको ।”

“कमलो भाग पनि भेटिन्छ । फेरि खोज् !” ढुक्क थियो मन ।

फेरि छामछामछुमछुम गर्न थाल्‍यो आँखा ।

“भेटियो ! भेटियो !!”

“अब त्यतैबाट भित्र पसम् ।” भन्यो मनले ।

दुवैजना कमलो प्रवेशद्वार उघारेर भित्र पसे । उनीहरुको बाटो पुनः कुनै पन्यालो पदार्थले छेकि दियो । आँखाले त्यस पदार्थको गहिराइ छाम्न खोज्यो । असिम गहिराइलाई छेकेका विभिन्नै जालै जालहरु मात्र भेट्टायो ।

“यो त महासागर जस्तो पो छ त, के हो यो ?”

“यो अहिलेको लागि मायाको सागर हो ।”

“तालको गहिराइलाई छेकिरहेका जालहरु पनि छन् ?”

“लोभी, पापी, बेतालका आँखाहरुले बिछ्याएका जाल होलान् नि !” मन बोल्यो ।

“पत्थरजस्तो दिलको भित्रपट्टि पनि मायाको सागर हुँदोरहेछ है । ” चकित पर्‍यो आँखा, “तर,

‘अहिलेको लागि’ भनेर शर्त तेर्स्याउनुको कारण ?”

“बाहिरी वातावरणले दिलमा दिने ठक्करको प्रकृति अनुसार यसले रिसको सागर, लोभको सागर, अहंकारको सागर, कामको सागर, आदि विभिन्न रुपरङ्ग फेरिरहन्छ ।”

मायाको मोहक सागरमा डुबुल्की मार्ने रहर पलायो आँखाको ।

जब तालभित्र पस्न सूर कस्नै आँटेको थियो-

“खबर्दार ! यहाँ पस्न मनाही छ ।”  बाहिरतिरबाट करायो कोही ।

आवाज आएतिर हेर्‍योः खबरदारी गर्ने अर्कै आँखा थियो ।

अब ‘दासको दासी’ को अर्थ बुझ्न कुनै महाभारत भएन आँखालाई । तर मूल दासको मालिक को होला ? बुझ्न झनै मुसिवत पर्‍यो उसलाई ।

‘बा ? मामा ? लोग्ने ? दाइभाइ ?  छोरा ? वा त्योभन्दा एक कदम परका अरु कुनै नाताका मालिकहरु ? वा त्योभन्दा पनि परका मालिकहरु ?’ ऊ सागरको छेउमा अलमलिइ रह्यो ।

फेरि चेतावनी दोहोरियोः “खबरदार !!!”

मालिकको बारम्बारको चेतावनीपछि मनलाई त्यतैकतै छोडेर आँखीको दिलबाट एकै फालमा फुत्त्त बाहिर निस्कियो आँखा।

“बल्ल बचियो !” आँखा बोल्यो र बाँचेको अनुभूतिजन्य निश्वास छाड्यो ।

लेखक : पूर्ण ओली हुन् ।

 

 

 

Loading...

प्रतिकृया लेख्नुहोस्: