नेपालमा आजबाट कोभिड खोप अभियान - Nepal Talk
फाल्गुन २३ गते, २०७७

नेपालमा आजबाट कोभिड खोप अभियान

पटक हेरिएको

नेपालमा बुधवारदेखि कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु हुँदै छ।

कोरोनाभाइरस नियन्त्रण र रोकथाममा अग्रपङ्क्तिमा रहेर काम गरेका चार लाखभन्दा बढी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी लगायतलाई खोप लगाइने अधिकारीहरूले जनाएका छन्।

आज सात वटै प्रदेशका ६२ वटा अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सुरु हुने यो कार्यक्रमको पहिलो चरण १० दिनभित्र सकिने बताइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बीबीसी न्यूज नेपालीसँग भने, “खोप कार्यक्रम सात वटै प्रदेशमा सुरु हुन्छ। पहिलो दिन १२० भन्दा बढी खोप केन्द्रहरूबाट खोप दिने काम हुने छ।”

“काठमान्डौंका अधिकांश ठूला अस्पतालहरू खोप केन्द्र बनाइएको छ। हरेक खोप केन्द्रहरूमा कतै सरसफाइ कर्मचारी, कतै नर्स त कतै एम्बुलेन्स चालक अनि कतै चिकित्सकहरूलाई खोप दिएर यो सुरु गरिने छ।”

मन्त्री हृदयेश त्रिपाठी

सङ्क्रमणको अवस्था गत वर्षको माघ ९ गते नेपालमा पहिलो पटक कोरोनाभाइरसका सङ्क्रमित फेला परेका थिए। पछिल्लो एक वर्षमा नेपालमा २७०,००० भन्दा बढी मानिसमा कोभिड-१९ पुष्टि भइसकेको छ भने २,००० बढीको ज्यान गइसकेको छ।

खोप लगाएका व्यक्तिलाई आधा घण्टासम्म स्वास्थ्य निगरानीमा राखिने मन्त्री त्रिपाठीले बताए। उनले भने “केही दुष्प्रभाव देखिन्छ कि भन्नेमा सचेत छौँ। सबै खोप केन्द्र अस्पतालमा र लगाउनेहरू अस्पतालसँग जोडिएकाले त्यस्तो कुनै समस्या आउने छैन।”

नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको यो खोप ‘कोभिशील्ड’ अक्सफर्ड विश्वविद्यालय र आस्ट्राजेनिकाले विकास गरेको अनि भारतको सीरम इन्स्टिट्यूट अफ इन्डियाले उत्पादन गरेको हो।

प्रतिकृया लेख्नुहोस्: