उठ्न थाले मेलम्चीले बगाएका बस्ती - Nepal Talk
आश्विन ११ गते, २०७८

उठ्न थाले मेलम्चीले बगाएका बस्ती

पटक हेरिएको

हेलम्बु गाउँपालिका–१ चिउरीखर्क गरिब मगर र दलित बस्ती हो । विसं २०७२ को भूकम्पले थिलोथिलो भएको उक्त बस्ती बासिन्दाले आफ्नो थातथलोमा बस्न नसक्ने भएपछि सडक छेउ मोहीबापत कमाउँदै आएको जग्गामा भूकम्पको बेला पाएको रकमले घर बनाए । घर बनाएको तीन वर्ष नपुग्दै गत असार १ गते मेलम्ची खोलामा आएको बाढीले न घर रह्यो, न आफूले मोहीबापत कमाउँदै आएको जमिन नै ।भूकम्प होस् वा बाढी पहिरोको विपद्, यसको सबैभन्दा बढी मार भुइँमान्छेलाई पर्छ । यसको मार आज चिउरीखर्कका गरिब जनताले बेहोरिरहेका छन् । पटक–पटकको प्राकृतिक प्रकोपका कारण यो बस्तीका मानिसको जीविका उकासिनुको साटो झन भासिएको छ । चिउरीखर्कका गोपाल थापामगर भन्छन्, “भूकम्पमा बनाएको घरको ऋण तिर्न सकेको छैन अर्को विपत्ति झेल्नुप¥यो । न घर रह्यो न जग्गा, अब कसरी जीविका धान्ने ।”चिउरीखर्कमा यस्ता २२ घरधुरी छन् । सबैको अवस्था उही, न घर रह्यो न जमिन । भूकम्पका कारण विस्थापित भएका उक्त बस्तीका बासिन्दा अब पुरानै थातथलोमा बस्न बाध्य छन् तर आशा भने मारेका छैनन् । काले कामी भन्छन्, “जे हुनु भयो अब पुरानो थातथलोमा फर्कनेबाहेक अरु विकल्प छैन । यहीँ घर बनाउने र पाखो फाँडेर खेती लगाउन शुरु गर्ने हो, बच्नु त प¥यो ।” त्यसैले उनीहरुले पुरानै थलोमा अस्थायी आवास बनाउन शुरु गरिसकेका छन् । उक्त समुदायमा गाउँपालिकाको डिजाइनअनुसार स्टार्ट फण्डको सहयोगमा केयर नेपाल, पिपुल इन नीड र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा २० वटा तीन कोठे अस्थायी आवास निर्माण भइरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्: