महामारी नियन्त्रणमा जर्मनीको सहयोगमा निरन्तर रहन्छ : राजदूत - Nepal Talk
आषाढ़ ५ गते, २०७८

महामारी नियन्त्रणमा जर्मनीको सहयोगमा निरन्तर रहन्छ : राजदूत

पटक हेरिएको

नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड स्याफरले कोरोना महामारी नियन्त्रणका लागि जर्मनी र युरोपेली संघले नेपाललाई निरन्तर सहयोग गर्ने बताएका छन् । एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले जर्मनेली दूतावास र गोथे जेन्ट्रम काठमाडौंसँगको सहकार्यमा आज भर्चुअल रुपमा आयोजित अन्तरसञ्जाल सम्मेलनमा उनले  भने, ‘‘म भविष्यमा नेपालमा सीपयुक्त इन्जिनियरहरू देख्न इच्छुक छु । अन्तर्राष्ट्रिय अवसरका लागि हामी विद्यार्थीलाई जर्मनीका प्रतिस्पर्धी इन्जिनीयरिङ कलेजसँग सहकार्य गरेर अघि बढ्न उत्प्रेरित गर्नेछौँ ।’’ गोथे जेन्ट्रम काठमाडौँका निर्देशक सेबस्टेन वैस्टेकले गोथे नेतृत्वदायी भाषा केन्द्र रहेको र विश्वका दुई सयभन्दा बढी संस्था रहेको सञ्जालको पनि यो एउटा हिस्सा रहेको बताए । गोथे जेन्ट्रम काठमाडौँका भाषा विभागका विभागीय प्रमुख बेन्जामिन म्याट्रेन र संस्थाका परीक्षा विभागका विभागीय प्रमुख विनम कर्माचार्यले जर्मनीको संस्कृति, इतिहास, ऐतिहासिक स्थल, उत्कृष्ट चाडपर्व, पृथक सभ्यता तथा त्यहाँको समृद्ध भाषाका बारेमा प्रस्तुति दिएका थिए ।एड्भान्स्ड कलेज आफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार सिलवालले जर्मन भाषाको महत्त्वबारे उल्लेख गर्दै यस किसिमका सम्मेलनले इच्छुक विद्यार्थीलाई मात्रै नभएर सम्पूर्ण सहभागीलाई लाभान्वित गराउने बताए । जर्मनीको म्युनिचस्थित टेक्निकल विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर पूरा गरेका सोजन प्रजापतिले उक्त सम्मेलनको सहजीकरण गरेका थिए । एड्भान्स्ड कलेजका कार्यकारी निर्देशक कपिल रेग्मीले विश्वस्तरका शिक्षा, कला र विपद् व्यवस्थापनबारे यस प्रकारको अनुभव आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्: