अस्पताल पुर्‍याउनु अगावै कसरी भयो केशव भट्टराईको मृत्यु ? - Nepal Talk
आषाढ़ २३ गते, २०७७

अस्पताल पुर्‍याउनु अगावै कसरी भयो केशव भट्टराईको मृत्यु ?

पटक हेरिएको

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको ५३ वर्षको उमेरमा असामयिक निधन भएको छ। ओम अस्पताल लैजाने क्रममा आइतबार राति उनको निधन भएको हो। अस्पतालले निधनको कारणबारे कुनै औपचारिक जानकारी दिएको छैन। अस्पताल स्रोतले भन्यो, ‘हामी कहाँ ल्याउना साथ चिकित्सकहरुले जाँच गर्दा उहाँको निधन भइ सकेको थियो । त्यसैले कारण खोज्ने तिर लागिएन ।’

भट्टराई आइतबार बेलुका ७ बजे तिर चलचित्र विकास बोर्डका सदस्य तथा निर्माता नरेन्द्र महर्जनको घर कीर्तिपुरमा पुगेका थिए । महर्जनकी आमाको पुण्यतिथिको निम्तो मान्न उनी गएका थिए । नेवारी परम्परा अनुसार त्यहाँ उनले ‘ड्रिंक्स’ गरेको बताइएको छ।

कीर्तिपुरबाट आफ्नै गाडीमा अनामनगरस्थित घर फर्किने क्रममा उनको स्वास्थ्य बिग्रेको थियो। राति ९ बजे तिर बाटोमा उनलाई अप्ठेरो महसुस भएको र वान्ता समेत भएको थियो। भट्टराई गाडीको पछाडि सिटमा थिए।

ड्राइभरले अनामनगरस्थित घर पुर्‍याए पनि त्यति बेलासम्म भट्टराई बेहोश अवस्थामा पुगि सकेका थिए। ड्राइभरले उनलाई गाडीबाट निकाल्न नसकेपछि छोरालाई बोलाए। छोरा तत्काल घरबाट निस्केर उनलाई चाबहिलस्थित ओम अस्पतालतिर लगियो। त्यस क्रममा चाबहिलमै रहेको चलचित्र विकास बोर्डको कार्यालयमा लगेर त्यहाँबाट तीनजना सहयोगीहरुलाई पनि गाडीमा राखिएको थियो।

भट्टराईलाई राति सवा १० बजे तिर अस्पताल पु¥याइएको थियो । अस्पतालमा गाडीबाट निकाल्दा उनको मुखबाट र्‍याल र रगत समेत निस्केको देखिएको थियो । अस्पताल पुग्नु अगावै बाटोमै उनको निधन भएको चिकित्सकहरुले बताएका छन् । हृदयघातबाट निधन भएको हुन सक्ने आशंका गरिए पनि डाक्टरहरुले औपचारिक जानकारी दिएका छैनन् । वान्ता गर्ने क्रममा उनको स्वासनलीमा अवरोध पुगेको अनुमान समेत गरिएको छ । परिवारको आग्रहमा भट्टराईको पोष्टमार्टम गरिएन।

भट्टराईकी श्रीमती र एक छोरा छन्।

भट्टराई दम्पत्तिले ०६२ सालमा ओम अस्पतालमै टेस्टट्यूव प्रविधिबाट छोरा जन्माएका थिए । उनका छोरा १५ वर्षका छन्। भट्टराईले १५ वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आइरहेका थिए । महर्जनको घरमा रहँदा उनले केही असहज महसुस गरेको र टाउको दुःखेको बताएका थिए ।

आइतबार दिउँसो उनले बोर्डको वैठक राखेर शनिबार निधन भएका कलाकार दीपक क्षत्रीको अन्त्येष्टिका लागि रकम छुट्याएका थिए । दिउँसो साढे तीन बजे सञ्चारमन्त्रीसँग भेट गर्न सिंहदरबार पुगेका थिए । भट्टराई सोमबार हेटौंडा जाने कार्यक्रम थियो । त्यहाँबाट मंगलबार भैरहवा जाने योजना थियो । भैरहवामा बोर्डले आयोजना गर्न लागेको चलचित्र महोत्सवको तयारीका लागि उनी जान लागेका थिए । यसका लागि उनले ४/५ दिन छुट्टी लिइसकेका थिए।

तुलसी घिमिरेको चलचित्र ‘कोसेली’ बाट ०४५ सालमा अभिनय यात्रा सुरु गरेका भट्टराईले पाँच दर्जन जति चलचित्रमा अभिनय गरेका छन् । उनले थुप्रै चलचित्र निर्माण पनि गरेका छन् । उनी ८ महिना अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका थिए । त्यसअघि उनी चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष थिए । भट्टराईको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्यष्टि गरिने छ । त्यसअघि चलचित्र बिकास बोर्डमा श्रद्धाञ्जलीका लागि २ बजेसम्म राखिनेछ ।

विद्युत प्राधिकरणदेखि चलचित्र विकास बोर्डसम्म

ओखलढुंगामा जन्मिएका केशवलाई शुरुमा चलचित्र क्षेत्रमा खासै रुचि थिएन । विकास बोर्डको अध्यक्ष हुन्छु भनेर त कल्पना पनि गरेका थिएनन् । उनको लक्ष्य ‘सिभिल इन्जिनियर’ बन्ने थियो । तर, आफ्नो सर्टिफिकेटमा प्राप्ताङ्क नपुगेपछि उनले त्यो बाटो समात्न सकेनन् ।

सिभिल इन्जिनियर बन्न नपाएपछि उनले विद्युत प्राधिकरणमा जागिर सुरु गरे । प्राधिकरणमा सँगै काम गर्ने साथी डा। प्रदीप भट्टराई निर्देशक तुलसी घिमिरेको पीआरको काम गर्थे । प्रदीपकै माध्यमबाट तुलसी घिमिरेसँग केशवको चिनजान भयो ।

नेपाल विद्युत प्राधिकरणमा दुई दशक जागिर खाएका भट्टराईले बोर्डमा नियुक्त भएपछि प्राधिकरण छाडेका थिए । सामान्य चिनजानमा नै तुलसीले केशवलाई चलचित्रमा अभिनय गर्न सुझाए । केशवको लुक्सबाट तुलसी प्रभावित थिए । त्यसैले ‘कोशेली’मा सानो भूमिका दिए ।

उक्त चलचित्र पश्चात् तुलसी घिमिरेले निर्माण गरेका चलचित्रमा उनले निरन्तर काम गरे । ‘चिनो’, ‘दुई थोपा आँशु’, ‘दक्षिणा’ लगायतका चलचित्रमा काम गरेपछि ‘मितज्यु’ नामक चलचित्रमा आएर केशवले मुख्य भूमिकामा काम गर्ने अवसर पाए ।

‘मितज्यु’पछि बाहिरी व्यानरका चलचित्रहरुबाट पनि केशवलाई प्रस्तावहरु आए । निरन्तर रुपमा चलचित्रमा काम गर्दै गए । नाच्न कमजोर उनलाई धेरैले ‘नाच्न नजान्ने हिरो’को उपमा दिएका थिए। अभिनयमा भने उनी पोख्त थिए ।

चलचित्र ‘बलिदान’मा काम गरेपछि तुलसी घिमिरेको जुनियर टिम मिलेर ‘दौतरी’ बनाए । केशव पनि टिममा थिए । उक्त चलचित्र हिट भएपछि केशव आफ्नै लगानीमा चलचित्र बनाउनतिर लागे । उनको लगानीमा चलचित्र ‘आफ्नो मान्छे’ बन्यो र सफल पनि भयो ।

उक्त चलचित्रको सफलतापछि निरन्तर चलचित्र निर्माणमा थिए, केशव । उनको लगानीमा पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल, ब्रस्लेट, यात्रा’ लगायत चलचित्र बनेका छन् । तीमध्ये केही सफल र केही व्यापारिकरुपमा असफल भएका छन् ।

निभ्यो आशाको दियो

चलचित्र क्षेत्र र चलचित्रकर्मीको हितमा काम गर्ने प्रतिबद्धता सहित केशव विकास बोर्डमा अध्यक्षको कुुर्सी सम्हाल्न आइ पुगेका थिए। धेरै योजनाहरु बुनेका थिए उनले र कार्यान्वयनमा पनि जुटिरहेका थिए।

चलचित्र क्षेत्रले नै केशवमाथि निकै भरोसा गरेको थियो। ‘केशवले नगरे कसले गर्छ ?’ भन्ने भाव धेरैको देखिन्थ्यो। अध्यक्षको कुर्सीमा आसिन भएपछि ‘मलाई अंग्रजदेखि अहिलेका पुस्तासम्मले विश्वास गर्नु भएको छ। त्यो विश्वासलाई म मर्न दिन्नँ ।’ तर, उनको वाचा अधुरो भएको छ। चलचित्रकर्मीको आशा निराशामा बद्लिएको छ। चलचित्र क्षेत्र नै शोकमा डुबेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: