नगरपालिकामा अनियमितताको विरोधमा भैंसी जुलुस - Nepal Talk
मंसिर १६ गते, २०७८

नगरपालिकामा अनियमितताको विरोधमा भैंसी जुलुस

पटक हेरिएको

धनुषाको सबैला नगरपालिकाका जनप्रतिनिधिले भ्रष्टाचार गरेको भन्दै लामो समयदेखि धर्नामा बसेका स्थानीयवासीले आइतबार भैंसी जुलुस प्रदर्शन गरेका छन् । भ्रष्टाचार विरुद्ध संयुक्त संघर्ष समितिले विभिन्न शीर्षकमा सूचना माग्दै विगत १४ दिनदेखि अनसनलाई निरन्तरता दिँदै आएको छ ।संघर्ष समितिको आन्दोलनलाई समर्थन गर्दै आइतबार स्थानीयवासीले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भैंसी जुलुस निकालेका हुन् । विभिन्न सूचना माग गर्दा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुर, लेखा अधिकृत शिवकुमार झा र इन्जिनियर रञ्जित यादवसमेतकाले बेवास्ता गरेपछि स्थानीयवासीले भैंसी जुलुस निकालेर सांकेतिक रुपमा विरोध जनाएका हुन्  ।

जुलुसमा सहभागीले नगरप्रमुख र कर्मचारीहरू विरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । नगरप्रमुख र कर्मचारीको मिलोमतोमा नगरपालिकामा व्यापक भ्रष्टाचार भएको आशंकामा सूचना माग गरिएको तर सो सूचना उपलब्ध नगराएका कारण संयुक्त संघर्ष समितिले अनसन थालेको समितिका अगुवा सुरेश यादवले जनाए ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा सबैला नगरपालिकामा व्यापक आर्थिक अनियमितता भइ बेरुजु ठहर भएको उल्लेख छ । सो लगत्तै स्थानीयवासीले समेत पालिकामा आन्दोलन गर्दै आएका छन् ।

प्रतिकृया लेख्नुहोस्: