आश्रमबाट घर फर्कदा..... - Nepal Talk
मंसिर १६ गते, २०७८

आश्रमबाट घर फर्कदा…..

पटक हेरिएको

‘निर्मला दिदी हामी जान्छौँ, अब घरबाट नहराउनूस् ल, बाइबाइ’ मानवसेवा आश्रमकी अभियन्ता सुमिरा लामाले बिदा मागिन्, निर्मला दासले हात हल्लाइरहिन् ।

यो यही असोज ६ गतेको कुरा हो । विराटनगर–१४ की दासले तीन वर्षअघि छोडेको घरआँगन टेक्दै थिइन्। ३२ वर्षीया दास शुक्रबारे हटियामा रहेको घरमा पुग्दा दाइ घरमै थिए ।, आमा काममा । हराएकी बैनी टुप्लुक्क घरमा आइपुग्दा विनोद रामका आँखा खुसीले टिल्पिलाए । गुमेको खुसी भेटिएझैँ भयो । छरछिमेकी पनि दङ्ग परे । धेरैतिर खोजी गर्दा पनि दास नभेटिएपछि परिवारजनले आश मार्न थालिसकेका थिए ।“आमा काममा गएका रहेछन, निर्मला दिदीलाई उनको दाइलाई जिम्मा लगायौँ, घरमा माया र सुसारसहित राख्छौँ भनेका छने,” अभियन्ता लामाले भने ।

सडक हुँदै आश्रममा आएकी दासलाई पारिवारिक पुनर्मिलन गराउन अभियन्ता लामा आफैँ विराटनगर पुगेकि थिइन् । विसं २०७५ माघमा कास्की, लेखनाथबाट उद्धार गरेकि दास बागलुङको यहि आश्रममा थिइन् ।

मानसिक विक्षिप्तता लिएर सडकमा अलपत्र परेकी दासको आश्रममै नियमित उपचारसमेत हुँदै आइरहेको थियो । बीचमा उनलाई पायल्सको पनि समस्या देखिएको आश्रमकी संयोजक लामाले बताए । “आश्रममै छँदा उनले आफू घर जान चाहेको कुरा बताइन् घरको ठेगाना पनि भने, त्यसपछि सोधखोज ग¥यौँ,” संयोजक लामाले भने, “सबैभन्दा ठूलो कुरा दिदीलाई पारिवारिक पुनर्मिलन गराउन सक्यौँ, हामी यसमै खुसी छौँ ।”आश्रमको पहिलो उद्देश्य सडकमा अलपत्र र सहाराविहीनको पारिवारिक पुनर्मिलन गराउनु नै हुन्छ । बस्तीमा भएको बाढीको घटनापछि परिवार विस्थापनमा परेका बेला दास हराउन पुगेको आश्रमले जनाएको छ ।

बागलुङ नगरपालिका–३ मूलपानीका नगेन्द्र पन्त पनि हराएको १५ वर्षपछि गत वर्ष घर फर्कनुभयो । उहाँको पारिवारिक पुनर्मिलन पनि मानवसेवा आश्रमकै कारण सम्भव बनेको हो । विसं २०६२ मा रोजगारीका लागि मलेसिया गएका पन्त त्यहाँ पुगेको एक वर्षपछि सम्पर्कविहीन भएको थियो ।

दुई वर्षअघि मलेसियाबाट फर्केपछि काठमाडौँको सडकमा अलपत्र परेका पन्तलाई आश्रमले नै उद्धार गरी यहाँ ल्याएको थियो । आश्रमको बागलुङ शाखामा पाँच महिना बसेपछि बल्ल उहाँले आफ्नो घर मूलपानी भएको बताताएको थियो ।

अफ्ठेरोमा सहारा मात्र दिएन वर्षौंसम्म बेखबर पन्तको पारिवारिक पुनर्मिलनमा पनि आश्रम नै माध्यम बन्यो । त्यसरी बिर्सिइसकेका र माया मारेका स्वजन अचानक घर फर्कंदा मिल्ने खुसीको वर्णन त तिनै परिवार तथा आफन्तले मात्र गर्न सक्छन् ।

“पारिवारिक पुनर्मिलनका लागि पुग्दा कतिपय घरमा त माहोल नै भावपूर्ण हुन्छ, सबैजना खुसीले विभोर हुनुहुन्छ, कसैले सामान्य रुपमा पनि लिनुहुन्छ,” संयोजक लामाले भने, “हामी अभियन्ताका लागि त त्यो नै सबभन्दा सुखद क्षण हो ।”

विसं २०७२ मा यहाँ खुलेको आश्रमले अहिलेसम्म १६ जना सडक आश्रितलाई पारिवारिक पुनर्मिलन गराएको छ । त्यसरी पुनर्मिलन हुनेमा भारतीय नागरिकसमेत छन् ।

‘हाम्रो चाहना ः सबैका लागि खाना, नाना र छाना’ को आदर्श वाक्यसहित मानवता प्रवद्र्धन महाअभियानमा सक्रिय रहेको आश्रमले नेपाललाई सडक मानवमुक्त बनाउने लक्ष्य लिएको छ । आश्रमले बेसहारा, अशक्त, असहाय र अभिभावविहीनको उद्धार तथा संरक्षण गर्दै आएको छ ।

आश्रमको शाखा यहाँ आएपछि हालसम्म एक सय १९ जनाको उद्धार गरिएको छ । दशजनाले आश्रममै ज्यान गुमाएका छन् । आश्रममा पाएको उपचार र स्याहारसुसारपछि पूर्ण रुपमा स्वस्थ भई नौजना आफँै घर फर्केका छन् । अहिले ४८ जना आश्रित छन् । केही दिनअघि बङ्गलादेशी महिलालाई उद्धार गरिएको थियो ।

बागलुङलाई पनि ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्ला’ घोषणा गर्ने आश्रमको तयारी छ । सरकारी निकाय र दाताहरुको सहयोगमा आश्रमको आफ्नै भवन निर्माणाधीन छ ।

बागलुङ –४ निरयघाटमा रु दश करोडको लागतमा आश्रम बनाउन लागिएको निर्माण समितिका अध्यक्ष शिव खड्काले बताए । आश्रम निर्माणमा सङ्घ, प्रदेश र स्थानीय सरकारको समेत लगानी छ । बागलुङ नगरपालिकाले आश्रमको अभिभावकत्व लिएको छ । अहिले बागलुङ बजारस्थित अर्कैको घरबाट अस्थायी रुपमा आश्रम सञ्चालित छ । सुविधायुक्त भवन बनेपछि आश्रमको सेवा पनि व्यवस्थित बन्ने जनाइएको छ । ठाउँ अभावले गर्दा अहिले भएको संरचनाबाट धेरै जनालाई आश्रय दिन नसकिने स्थिति छ । नियमित आर्थिक स्रोत नहुँदा व्यवस्थापकीय काममा कठिनाइ उत्पन्न हुने गरेको छ । आश्रमको दैनिक खर्चपर्च स्वयंसेवी दाताको भरमा चलेको छ ।

प्रतिकृया लेख्नुहोस्: