आमाको कथा - Nepal Talk
कार्तिक ४ गते, २०७८

आमाको कथा

पटक हेरिएको

 

यो कुरो हो २०२६ सालतिरको । त्यतिखेर म जम्मा १३ बर्षको मात्रै थिए । मेरो घर नजिकै एउटा स्कुल थियो । रामेछापको श्री कृष्ण पुरी प्राबीमा म कक्षा पाँचमा पढथें । मेरो घरमा म मेरी आमाको पहिलो सन्तान थिए । म सबैको प्यारो थिए । मेरी आमा ग्यास्ट्रिकका कारण बेला बेलामा बिरामी परिरहनुहुन्थ्यो । आमा घरको जेठि बुहारी हुनुहुन्थ्यो । बिरामीका कारण आमा कहिलेकाहि मेलोपात गर्न सक्नुहुन्नथ्यो । आमा हप्तौ थलिनुहुन्थो । मेरी हजुरआमा कडै स्वभाबकी थिइन् । मेरी आमालाई त्यतिखेर यसले काम ठग्न थालि सौता खोजि भनेर हकारपकार पार्ने गर्थिन् । हजुरआमाका त्यस्ता तिता बचनहरु मेरी आमाले भोकभोकै पनि चुपचाप टार्ने गर्नुहुन्थ्यो । रोगि आमा माथी उपचारको सटा बिस्तारै मानसिक र शारिरिक यातना शुरु भयो । कुरैकुरामा एकदिन अचानक घरमा बुवालाई अंश थपिदिने लोभलालचमा मेरी हजुरआमाले सानीआमा ल्याउन लगाउनुभयो । मेरी सोझि आमाले त्यसको प्रतिकार केवल आशुले मात्र गर्न सकिन् । म सानै थिए । म यो सबै कुरा बुझ्न पनि त सक्दिनथे । एकदिन बिभिन्न आरोपमा मेरी आमालाई घरका सबैजना मिलेर थाममा बाधेर अगुल्टाले पोलियो । आमा रुन पनि नसक्ने बनेकि थिइन् । म गाई बाख्रा चराउन गएको थिए । आमाको अवस्था हेर्दा म आत्तिएको थिए । मेरो बुवा त्यतिखेरका पन्चायतका वडाअध्यक्ष हुनुहुन्थ्यो । वँहाका घरका विषयमा कसले बोल्न सक्थ्यो र ? आमा निरिह बनेर भाई काँखि च्यापेर माइत जानुभयो । समय बित्दै गयो । बिस्तारै म बिधार्थी बाट गोठालामा परिणत भएको थिए । कक्षा पाँचबाट मेरो पढाईमा पुर्णबिराम लाग्यो । त्यतिखेर खँनियापानीमा माबी बिद्यालय थिएन् । सिन्धुलीको दुम्जा गएर पढनुपथ्र्यो । मेरो बालापनको साथी बलराम भण्डारी दुम्जामै पढेर अहिले डाक्टर भएका छन् । मेरा गुरु उद्धब कोइरालाले मेरो घरमा आएर केटोलाई पढाउनुस भन्दा पनि अँह मेरो बारेमा बुवाले कुनै चासो नै देखाएनन् । म गोरु बख्रासंग रमाउन थाले । हलो समाउन थाले । आमाको मलाई डाक्टर, सिपाही, वकिल बनाउने सपना अधुरो बन्यो । उतिखेर आमालाई घरकाहरुले कुटपिट गर्दा आमाका बारेमा लेखिदिने आमाले कुनै पत्रकार पाइनन् । न न्याय दिने कुनै वकिल नै पाइन् । न त सिपाहि नै कोहि थियो अमाको । आमाको सम्पती सहारा जे भने पनि जम्मा छोराछोरी मात्र थियौं । मेरा पाँचवटा बहिनी र एकजना भाई थिए । मेरा दुईवटा बहिनीहरु भगवानको प्यारो बनेका थिए । मेरो अहिले तिन वटा बहिनी र एकजना भाई छन् । आमाको सपना ढिलै भएपनि आमाका यि सन्ततीहरुले धेरथोर पुरा गरिदिएका छन् । आज आमाको सबैथोक छ । लेखिदिने पत्रकार, बोलिदिने वकिल र सिपाहि सबै छन् तर हामीसंगँ आज आमा छैनन् । आज मेरी आमा मसंगै भइदिएको भए यो खुसि बाडथे । मभन्दा भाग्यमानी अर्काे कोहि हुदैनथ्यो होला । २०६३ सालमा बुवा परलोक हुनुभयोे । बुवा बितेपछि आमालाई मनपर्ने रातो साडि चुरा र सिन्दुर खोसिदियोे दैवले । बुवाले सौता ल्याएपछि पनि एकाघरमा छँदा मेरो आमा र मेरो सानीआमाहरुले सौतेनी व्यवहार कहिल्यै देखाएनन् । मेरी सानीआमाले म प्रती सौताको छोरो हो भन्ने अनुभुती हुनै दिइनन् । सानीआमा मेरै आमा जस्तो लाग्छ । सानीआमापटिका एकजना भाई छ, जो मलाई उतिकै दया माया गर्छ । बहिनीहरु २ जना उतिकै मायालु छन् । आमा तँपाइले हामीलाई छाडेको छ बर्ष कति छिटै बितेछ हगि । २०७३ साल असार ५ गते ८० बर्षको उमेरमा मेरी आमा दिउसो बाह्र बजे घरै छेउमा केराको झाङमा दुबोमा हातको सिरानी गरेर सुतेको भेटियो । आमाले त्यतिखेरै हामीलाई छोडेर जानुभएको रहेछ । मेरी आमा आजकै दिन यस संसारमा भौतिक शरिर छाडेर हामीबाट टाढा जानुभयोे । मेरी आमा अक्षर खुटयाउन सक्दिन थिइन तर हामी सन्तानलाई गतिलो शिक्षा र संस्कार सिकाएकी छन् । आफुलाई ‘ढुगाँले हान्नेहरुलाई आमाले फुलले हान्नुपर्छ बाबु हो’े भनेर सिकाउनुहुन्थ्यो । आमाले सिकाएको संस्कार नै मेरो लागि आज संसारको सबैभन्दा महंगो उपहार भएको छ । मेरी आमा संसारकै असल आमा थिइन् । आमा तँपाइको हरेक बर्षको पुण्यतिथीमा मैले टोपि झिकेर धोती पटामा श्रदा गर्दै आएको थिए । मलाई माफ गर्न‘स है आमा आज तँपाइको छोरो ज्यान बचाउन अस्पतालको ढोकामा धाइरहेको छ । म यहि अस्पतालको शैयाबाट आमाको छैठौ पुन्य तिथीको अवसरका दशऔला जोडि लाखौ लाखको श्रदासुमन भन्न चाहन्छु । आमा जँहा हुनुहुन्छ जस्तो हुनुहुन्छ आरामसंग बस्नुस है ।
उहि तँपाइको जेठो छोरो गणेश बहादुर खड्का ।

रामेछाप खँनियापानी , कटुन्जे सुनापती ५

प्रतिकृया लेख्नुहोस्: